Logo

‘केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट पर्यो होला, देशलाई कहाँ संकट परेको छ ?’ : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले क्लबले सफलताका २३ वर्ष पार गरेकोमा हार्दिक बधाई तथा धन्यवाद दिए । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझै बढि जनताको विश्वास आर्जन गर्न सकोस भन्ने शुभकामना पनि दिए । प्रधानमन्त्री ओलीले क्लबले मिशन पत्रकारिताभन्दा पनि निश्पक्ष र स्वच्छ पत्रकारिता गरेको विश्वास दिलाए । उनले नेपालमा पछिल्लो समय केहीले मिशन पत्रकारिता गरिरहेको भन्दै आलोचना गरे । साँचो पत्रकारिताको अभ्यास क्लबले गरेको उनले स्पष्ट पारे ।

उनले एकता भन्ने शब्दको हुर्मत प्रज्ञा भवनको डबलीमा बसेर लिईएको भन्दै आलोचना गरे । देश संकटमा नपरेको पनि उनले दाबी गरे । बरु, केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको होला तर देशलाई संकट नपरेको उनको दाबी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई केही विमारी त आफूले नदेखेको पनि उनको जिकिर छ । उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ ? भन्दै प्रतिपश्न गरे । उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने भन्दै त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ भन्दै प्रश्न गरे । उनले सम्बोधनको क्रममा भने,चुनाव भएर लोकतन्त्रलाई खतरामा पार्छ भने अब २० महिनामा त चुनाव नै हुन्छ नि । तालसुरमा कुरा गर्नुपर्छ मान्छेले ।’

उनले प्रतिनिधिसभा विघटनको सिफारिश अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आवेश र उत्तेजनामा नआएको स्मरण गराए । उनले अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाए । संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको पनि उनले टिप्पणी गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्