Logo

प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी : तपाईसँग न सेना छ, न हतियार छ, उबेला सम्झिएर छेलो फ्याक्न नखोज्नुस ढाड सड्किन्छ (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई विगतको दिन सम्झिएर नहिँड्न सुझाएका छन् । उनले हिजो प्रचण्डसँग सेना र हतियार हुँदापनि आफूले त्यो गलत हो भनेर बोलेको स्मरण गराउँदै प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।

रिपार्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गदै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने,‘ती दिन गए प्रचण्ड जी, त्यो अब चल्दैन थ्यो । एउटा समय थियो ममात्रै बोल्थेँ । तपाईंका हतियार, लडाकुसँग डराउने समय थियो । तर, म नडराइ बोल्थेँ, लल्कार्थेँ । आज त तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’

ओलीले अघि थपे,‘एकजना हजुरबा हुनुहुन्थ्यो । केटाहरुले छेलो फ्याँकेको देखेर यति जाबो ढुँगा त म फुत्त फ्याक्दिन्छु भनेर अघि सर्नुभयो, तर फुत्त फ्याँक्दा कम्मर सड्किएर ढल्नुभयो । उहाँले आफू बुढो भएको थाहा पाउनुभएन छ । प्रचण्डजीलाई पनि म उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उमेर सम्झिएर छेलो फ्याक्न नखोज्नुस, ढाड सड्किन्छ । त्यो जमाना गयो ।’

ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् । उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यो खै आधा ? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन ?’



प्रतिक्रिया दिनुहोस्