Logo

टनकपुरबाट बिजुली नआउँदा पश्चिमका उद्योग प्रभावित



काठमाडौं, चैत १८। गत शनिवारदेखि भारतको टनकपुरबाट नेपालमा आयात हुने बिजुलीको आपूर्ति पूर्ण रूपमा बन्दा हुँदा त्यसको असर पश्चिम भेगका उद्योगहरूमा देखिन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण थलिएका उद्योगहरूले सिजनको मौका समात्दै क्रमशः उत्पादन क्षमता बढाउन थालेका बेला केही दिनदेखि विद्युत् आपूर्तिमा समस्या हुँदा कलकारखाना तथा उद्योग नै बन्द गर्नु परेको बताएका छन् ।

नेपाललाई १ हप्ताका लागि बिजुली उपलब्ध गराउन नसक्ने भन्दै भारतले चैत १४ गतेदेखि विद्युत आपूर्ति बन्द गरिदिएको छ । भारतस्थित टनकपुरमा मर्मतसम्भारको काम चलिरहेको भन्दै उसले नेपालले आयात गर्दै आएको ८५ मेगावाट (मेवा) बिजुलीको आपूर्ति बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । मुलुकको पश्चिमी भेगमा ठूला लगानी भएका सिमेन्ट उद्योगहरू र खाद्यान्नलगायत अन्य उद्योगले पिक आवरमा बिजुली पाउन सकेका छैनन् ।

पश्चिम भेगमा अहिले ठूलो लगानीका सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । सगरमाथा, सोनापुर, सम्राट सिमेन्ट, रोल्पा, अग्नि ग्रूपको शुभश्री सिमेन्टजस्ता उद्योगहरू त्यस भेगमा छन् । सिजनका बेला बिजुली आपूर्तिमा भइरहेको समस्याले बुटवलदेखि पश्चिमका साना ठूला उद्योगहरू प्रभावित भएको एक व्यवसायीले बताए । त्यस भेगका सिमेन्ट उद्योगहरूले उत्पादन नै बन्द गर्नुपरेको ती लगानीकर्ता बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्