Logo

एमालेमा ओली समूह आक्रामक भएपछि माधव समूह रक्षात्मक



काठमाडौं, १८ चैत्र । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसामु अर्का नेता माधवकुमार नेपाल समूह कमजोर देखिएको छ । ओली समूहले एकपछि अर्को कारबाही गरिरहँदा पनि नेपाल समूह रक्षात्मकमै सिमित छ ।

ओलीले केन्द्रीय कमिटी बैठक डाकेर २८ फागुनमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी र स्थायी कमिटी खारेज गरिदिए । माधव नेपाल समूहले त्यसको विरोध गरे मान्य नहुने प्रतिक्रिया दियो । तर, ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बनको निर्णय गराए । त्यसलाई पनि अमान्य भन्नेबाहेक नेपाल समूहले केही गर्न सकेन ।

ओलीले एकपछि अर्को आक्रामक कदम चालेपछि नेकपा एमालेका नेपाल समूहका सांसदहरु पद जोगाउनका लागि निरिह देखिनथालेका छन् । उनीहरु विगतमा लिएको निर्णयबाट ब्याक भएका छन् ।

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता भइसकेको छ । प्रदेशसभा सांसद पद नै जाने खतरा टार्न नेपाल समूह पछि हटेको हो ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गरिएको छ । नेपाल समूहकी नेता अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिएकी छिन् । यसअघि शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

ओली समूह आक्रामक बनेको र कुनैपनि बेला कठोर कदम चालेर कारबाही गर्न थालेपछि नेपाल समूह रक्षात्मक बन्दै गएको हो । अहिले सांसद देखि प्रदेशसभा सांसद पनि कारबाहीको डरले त्रसित भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्