Logo

चिमखोला र रायखोर जोड्ने झोलुङ्गे पुल लक्ष्य भन्दा छ महिना अघिनै निर्माण



म्याग्दी, १८ चैत्र । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला र रायखोर जोड्ने झोलुङ्गे पुल लक्ष्य भन्दा छ महिना अघिनै निर्माण भएको छ । अधिकांश विकास आयोजना अलपत्र र ढिलासुस्तीले थला परिरहेको अवस्थामा रायखोरको फडुकेडाँडा र चिमखोलाको ताप्केभिरको सिमाना भएर बग्ने रघुगङ्गा नदीमाथि लक्ष्य अघिनै झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणस्थल रघुगङ्गा गाउँपालिकाको वडा नं ६ र ७ को सिमानामा पर्छ ।

सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरले सो पुल निर्माणका लागि २०७६ फागुन १५ गते उमाखानी जेभीसँग रु साठी लाखमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयका डिभिजनल इञ्जिनीयर गौरीकुमार श्रेष्ठले २०७८ भदौ १५ गतेसम्म ठेक्काको म्याद भए पनि २०७७ चैत पहिलो हप्तानै ठेकेदारले पुल निर्माण सकेर हस्तान्तरण गरेको जानकारी दिए ।

“रु ७४ लाख ७४ हजार ६१९ लागत अनुमान रहेको पुल निर्माण अवधि १८ महिनाको थियो,” उहाँले भन्नुभयो,“आगामी भदौ १५ गतेसम्म ठेक्काको म्याद भए पनि लक्ष्य भन्दा छ महिना अघिनै पुल निर्माण सकिएको हो ।” त्यसमा २३ मिटर लम्बाइको डिजाइन भए पनि पुल निर्माणका क्रममा ६ मिटर लम्बाइ बढाइएको छ ।

कोरोना भाइरसको जोखिम र लकडाउन ९बन्दाबन्दी०का कारण फागुनमा सम्झौता गरे पनि निर्माण व्यवसायीले गत मङ्सिर महिनामा मात्रै निर्माण शुरु गरेका थियो । शुरु गरेको चार महिनामै पुल तयार भएको हो । कोरोनाको जोखिम, बन्दाबन्दी र भौगोलिक विकटताको बाबजुद पनि निर्माण व्यवसायीले पर्याप्त मजदूर र सामग्री जुटाएर लक्ष्य अघिनै पुल निर्माण गरेका हुन् ।

चिमखोलाका बासिन्दासमेत रहनुभएका सांसद थममाया थापाले निर्माण व्यवसायीको इच्छाशक्ति, समुदायको चासो र सम्बद्ध कार्यालयले पहल गर्ने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने यो पुल निर्माण योजनाले सन्देश दिएको बताए ।

पुल निर्माण भएपछि चिमखोला, सिस्नेरी, पात्लेखर्क, रायखोर, कोटगाउँ, ठाडाखानीका करीब पाँच सय घरधुरी लाभान्वित भएका छन् । रायखोर र चिमखोला आवतजावत गर्ने करीब ३० मिनेट यात्राअवधि छोटिएको चिमखोलाका ओम पुनले बताए । “यसअघि काठको जीर्ण पुलमा आवतजावत गर्न जोखिम थियो”, रायखोरका दलप्रसाद पुनले भने, “नयाँ ठाउँमा लामो दूरीको पुल बनेपछि सुरक्षित रुपमा आवतजावत गर्नुका साथै दूरी पनि घटेको छ ।” रायखोर गाउँबाट चिमखोलाको अमर माविमा पढ्न आउने विद्यार्थी सबैभन्दा बढी लाभान्वित भएका छन् । सडक सुविधा नपुगेको रायखोर गाउँ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । रासस-File Photo



प्रतिक्रिया दिनुहोस्