Logo

मानव बेचबिखन मुद्दामा संलग्न दुई महिला पक्राउ



झापा, १८ चैत्र । मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–६ नयाँ सब्जीमण्डीस्थित घरबाट मानव बेचबिखन मुद्दामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मोरङ पथरीशनिश्चरे नगरपालिका–३ बस्ने ३८ वर्षीया उर्मिला नेम्बाङ र ईलाम चुलचुली गाउँपालिका(४ बस्ने ३८ वर्षीया बन्ठि भन्ने नन्दिता साँवा लिम्बु रहेका छन् ।

उक्त घर भाडामा लिई २ जना महिलाहरुले दमक बजारमा कामको खोजीमा आउने युवतीहरुलाई सोही घरमा राखी बेश्याबृति गराईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चैत ६ गते उक्त घर तलासी गर्दा १७ देखि ३९ वर्ष उमेरका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उर्मिला र साँवाले उनीहरुलाई बेश्याबृतिमा लगाएको खुलेपछि तत्कालै उक्त घरमा रहेकी उर्मिलालाई पक्राउ गरी ८ जना पीडित महिला तथा युवतीहरु समेतलाई उद्धार गरेको थियो । साथै तत्काल फरार रहेकी साँवालाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि मानव बेचबिखन मुद्धामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्