Logo

माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक



काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र सुनामी ल्याउने निश्चितप्रायः भएको छ । उनले कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आक्रामक रणनीति साथ प्रस्तुत हुन लागेका हुन् ।

नेपालले समानान्तर कमिटी गठन गरिसकेका छन् । उनले छुट्टै घर भाडामा लिएर नयाँ कार्यालय समेत खोल्न लागेका छन् । त्यही घरबाट समानान्तर कमिटी चलाइने तयारी भएको छ । योसँगै एमाले विभाजित हुने निश्चितप्रायः भएको छ ।

यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए । त्यसलाई नेपाल समूहले अमान्य घोषणा गरेको थियो । योसँगै एमालेभित्र टकराव बढेको छ ।

यसैगरी, २८ फागुनमा ओलीले केन्द्रीय कमिटी बैठक डाकेर अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने कदम चालेका थिए ।

नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेर सानेपास्थित पार्टी प्यालेसमा भेला गरेका थिए । भेलाले ओलीको राजीनामा माग्नेसम्मको प्रस्तावबारे छलफल गरेको थियो ।

अहिले एमालेभित्र संसदीय दलमा जोडघटाउ चलिरहेको छ । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम