Logo

भारतको सहयोगमा निर्माण भएका हुलाकी सडकहरु हस्तान्तरण



काठमाडौं, १८ चैत्र । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका हुलाकी सडकहरु नेपाली जनतालाई हस्तान्तरण भएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरु संयुक्त रुपमा आज नेपालका जनतालाई समर्पित गरेका हुन्।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, उप—सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा उपस्थित थिए । १४ वटामध्ये १३ वटा प्याकेज निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको हो ।

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको आठ अर्ब आर्थिक सहयोगमा निर्माण हुनेछन् । यी सडकहरुलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोड्दछन् ।

नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पु¥याएको छ ।

नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको जनाइएको छ । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ ।

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज आज भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायात मन्त्रीले संयुक्त रुपमा समर्पित गरे। यी हाल सालै निर्माण सम्पन्न भएका सडकले मानिसहरुको यात्रा तथा आवागमनलाई थम आरामदायी र सहज बनाएकोे छ । निर्माण सम्पन्न भइसकेका तराई सडक प्याकेजका नाम, लम्बाई र स्थान यस प्रकार छन्ः

क्रम संख्या सडकको नाम लम्बाई ९किमि० जिल्ला
१ मनमत—कलैया—मटियर्वा,प्याकेज १ १५.०० बारा
२ मनमत—कलैया—मटियर्वा,प्याकेज २ ११.६६ बारा
३ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १ १७.०० धनुषा
४ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २ १५.३१ धनुषा
५ जनकपुर— यदुकुहा १६.६३ धनुषा
६ माइस्थान—गौशालाबजार—सम्शी २६.९४ महोत्तरी
७ जलेश्वर—हर्दी २७।२६ महोत्तरी
८ लमही—कोइलाबास ३३.४७ दाङ्
९ कानेपोखरी—रङ्गेली २५.४० मोरङ्ग
१० कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी १७.२८ सप्तरी
११ तामागढी—सिम्रौनगढ, प्याकेज १ २०.०० बारा
१२ तामागढी—सिम्रौनगढ, प्याकेज २ १९.७४५ बारा
१३ बीरगंज—ठोरी, प्याकेज १ २५.६० पर्सा
१४ बीरगंज—ठोरी, प्याकेज २ ३०.०० पर्सा

 



प्रतिक्रिया दिनुहोस्