Logo

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने



काठमाडौं, चैत १९ । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािधकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिकरण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राधिकरणले यो निर्णय गरेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भारतले यस्तो सेवा सञ्चालनमा ल्याइसकेका छन् । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वीकृति प्रदान गर्न सकिएको थिएन ।

प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो । १० हजार फिटभन्दा माथि उड्ने विमानमा मोबाइल सेवा र इन्टरनेट सेवा सञ्चालनका लागि विमानभित्रै पिको सेल अर्थात् फोरजीको सानो बीटीएस राख्नुपर्नेहुन्छ ।

सो बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भई विमानमा सेवा उपलब्ध हुने गर्छ । बीटीएस स्याटेलाइटमा कनेक्सन भने जुन देशको विमान हो । त्यही देशको दूरसञ्चार सेवा प्रदायकसँग हुने गर्छ ।

यसका लागि प्लेनमा पिको सेल अर्थात सानो प्रकारको बेसस्टेसन राखिएको हुन्छ । प्लेनले अन्य समयमा पनि जमिनमा रहेको टावर र सेक्युरिटी सेन्टरमा आफ्नो बारेमा स्याटेलाइट कनेक्सनमार्फत नियमित जानकारी उपलब्ध गराइरहेका हुन्छन् ।

नेपाली विमान कम्पनीमा बीटीएस राखिसकेपछि विभिन्न दूरसञ्चार प्रदायकसँग कनेक्ट हुने भएकाले नेपाली यात्रु लाभान्वित हुनेछन् । यो व्यवस्थासँगै १० हजार फिटमा उडेपछि मोबाइल अन गर्न सकिनेछ । अहिले विमानभित्र पसेदेखि नै मोबाइल स्विच अफ गराउने गरिन्छ । यद्यपि स्वीकृति लिएका कम्पनीले नेपाली आकाशमाथि अन्य देशका सेवाप्रदायकको नेटवर्कले पनि काम गर्न पाउनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्