Logo

चालू आवमा सरकारी अनुमानभन्दा ४.३५ बिन्दु कम आर्थिक वृद्धिदरः विश्व बैंक



काठमाडौं, चैत १९। चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साउथ एशिया इकोनोमिक फोकस साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।

सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २ दशमलव ७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा २०७८/७९ मा भने ३ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०७९/८० सम्म ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि प्राप्त हुने विश्व बैंकको पूर्वानुमान छ ।

नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरूले पठाउने विप्रेषण मुख्य कारण मानिएको छ ।

विश्वभर महामारी तीव्र रूपमा फैलिरहेको समयमा पनि नेपालमा विप्रेषण भित्रिने क्रम रोकिएको थिएन । यसबीचमा खोप अभियानसमेत नेपालमा प्रभावकारी रूपमा अगाडि बढेको विश्व बैंकको ठहर छ । यसले समेत आर्थिक गतिविधिमा वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ । नेपालसहित बंगलादेश, पाकिस्तान लगायतको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमानबाट देखिन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्