Logo

सिमाना सहज हुँदा स्वदेशी उद्योगीलाई असहज !



वीरगञ्ज, चैत १९ । कोरोना महामारीले थलिएको उद्योग व्यवसाय लयमा फर्किने क्रममा छ । महामारीमा चरम संकट सहेका अधिकांश उद्यम स्वाभाविक गतिमा अघि बढ्ने प्रयास गरिरहेकै बेला बन्दाबन्दीका बेला राम्रै आर्जन गरेका उद्योगका सञ्चालकलाई भने असहज भएको छ ।

यस्ता उद्योगलाई अन्य उत्पादन र बजारले गति लिँदा समस्या भएको होइन, भारतसँगको सिमाना खुलेसँगै आफ्नो उत्पादनको विक्री घट्ने चिन्ताले सताएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय सीमा बन्द गरिँदा मौलाएका उद्योगका लागि अहिले बजार गुम्ने जोखिम बढेको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि सीमा बन्द गर्दा भारतबाट अवैध आयातसमेत रोकिएको थियो । नाका खुल्नेबित्तिकै सबैजसो भारतीय सिमानाबाट अनधिकृत आयात पनि बढेको छ । यस्तो आयातले स्वदेशका उत्पादन नराम्ररी प्रभावित हुँदै आएका छन् ।

सिमाना बन्द गरिएपछि खाद्यान्न, कपडा, फुटवेयर, दैनिक आवश्यकताका स्वदेशी उत्पादनले राम्रै बजार पाएका थिए । सिमाना खुलेसँगै भारतीय बजारबाट राजस्व छलेर भित्रिएका मालसामानको अगाडि यस्ता स्वदेशी उत्पादनलाई प्रतिस्पर्धामा समस्या भएको उद्योगीहरूले बताएका छन् ।

अवैध आयात बढेसँगै सीमावर्ती क्षेत्रमा खटिएको प्रहरीले यस्ता मालसामान बरामद गर्ने क्रम पनि बढेको छ । सीमावर्ती जिल्लाका प्रहरीले दैनिकजसो यस्ता सामान समातेर कारबाहीका लागि भन्सारमा बुझाउने गरेका छन् ।

बन्दाबन्दीको समयमा सीमावर्ती भारतीय बजारबाट हुने किनमेल र अनौपचारिक आयात बन्द भएपछि यस्ता उत्पादनको आन्तरिक बजार उकासिएको अनुभव वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको छ । नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ता सिमाना बन्द हुँदा स्वदेशी खाद्यान्नको बजार बढेकोमा पछिल्लो समयमा त्यस्ता उत्पादनको माग खुम्चिएको बताउँछन् ।

भारतबाट भित्रिएको सस्तो उत्पादन र अनधिकृत आयातले अधिकांश खाद्यान्न उद्योगलाई समस्या थपिएको गुप्ताको दाबी छ । महामारीले बढाएको स्यानिटाइजर र मास्कको बजारले यस्ता उद्यममा लगानी पनि बढेको थियो । ठूला औद्योगिक घरानाले समेत मास्क उत्पादनमा हात हालेका छन् । अधिकांश औषधि उद्योगले स्यानिटाइजर उत्पादनको अनुमति लिएका छन् ।

गतवर्ष कोरोना संक्रमण बढेसँगै चीन र भारतले अन्य उपचार सामग्रीसहित स्यानिटाइजरको निर्यातमा रोक लगाएपछि सरकारले नेपालमै उत्पादनको अनुमति दिएको थियो । त्यतिबेला ४० ओटो औषधि उद्योगले उत्पादनको स्वीकृति लिएका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्