Logo

भौतिक पूर्वाधार मन्त्रालयलाई एक खर्ब ४८ अर्बको बजेट सिलिङ



काठमाडौं, चैत १९। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि १ खर्ब ४८ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । यो चालू आव २०७७/७८ को भन्दा ६ दशमलव ७५ प्रतिशत अर्थात् १० अर्ब रुपैयाँले मात्रै बढी हो । गत आर्थिक वर्षमा भने मन्त्रालयको बजेट घटेको थियो ।

माग गरेभन्दा कम बजेट सिलिङ पाएको मन्त्रालयले पहिलोपटक एयरमार्कसहित बजेट पाएको हो । अर्थात् मन्त्रालयले कुल बजेटको ७६ प्रतिशत अंश सिलिङबाहिर गएर थपघट गर्न पाउने छैन ।

राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकताप्राप्त आयोजनाहरू घोषणा गरिए पनि निर्धारित समयमै निर्माण सम्पन्न नभएको अवस्थामा मन्त्रालयले बजेट सिलिङमा तोकिएअनुसार १८ आयोजना तथा कार्यक्रमका लागि रकम विनियोजन गर्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईका अनुसार कुल बजेट सिलिङको ठूलो अंश यी आयोजनाका लागि सुनिश्चित अर्थात् एयरमार्क गरिएको छ ।

आगामी आवको सिलिङअनुसार ती आयोजनाको बजेट सुनिश्चित गरिएकाले मन्त्रालयले रकम थपघट गर्न नपाउने भएको हो । हाल मन्त्रालयमातहतका विभिन्न विभाग तथा कार्यालयहरू र विकास साझेदार निकायका गरी कुल ६९ ओटा आयोजना तथा कार्यक्रम सञ्चालनमा छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्