Logo

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता



काठमाडौं, चैत २० । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ ।

भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए ।

राजधानी दैनिकले बिहीबार मात्रै २३ रोपनी सरकारी जग्गा १२ वर्षदेखि भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाउमा गराइ हडप्दै आएको खुलासा गरेको थियो । सञ्चार माध्ययममा समाचार प्रकाशन भएलगत्तै भूमिव्यवस्था मन्त्रालय र मातहतको मालपोत कार्यालय डिल्लीबजारले ती जग्गा सरकारको नाममा ल्याउने गृहकार्य अघि बढाएका हुन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बिहीबार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, भूमिव्यवस्था विभागका महानिर्देशक तथा मालपोत कार्यालय डिल्लीबजारका कार्यालय प्रमुखलगायतलाई आयोगमा नै बोलाएर ती जग्गा फिर्ता प्रक्रिया थाल्न निर्देशन दिएको थियो । मन्त्रालयका सचिव पाण्डेले अख्तियारले आफ्नो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको र सोहीअनुसार हडपिएका जग्गा फिर्ता प्रक्रिया थालिएको जानकारी दिए ।

अख्तियारले गत २०६५ साल ९ मंसिरमा ती जग्गा सरकारी रहेको र विभिन्न व्यक्तिले गैरकानुनी रूपमा हडपेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो । तर, अख्तियारको सो निर्णय मालपोत कार्यालय डिल्लीबजारले कार्यान्वयन गर्न नसक्दा विभिन्न व्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता हुन सकेको थिएन ।

साबिक काठमाडौं बानेश्वर महादेवस्थान–५ को कित्ता नम्बर १४३ र क्षेत्रफल २३ रोपनी जग्गा धनी नेपाल सरकार मोही धोबीखोला जनाइएकोमा तत्कालीन कामनपा–३२ अनामनगरस्थित सार्वजनिक सरकारी जग्गा कानुन प्रतिकूल दर्ता गराई व्यक्तिको हक भोगमा परिवर्तन गरिएको थियो । जसअनुसार तत्कालीन कामनपा–१० सिट नम्बर १०२–११०६ २२ कित्ता नम्बर ६६ क्षेत्रफल ०–२–३–२ पर्तीमध्ये तथा कित्ता नम्बर १०७, कित्ता नम्बर १५६, ५४९, ४३१, ४३३, ४४७ का विभिन्न क्षेत्रफलमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको थियो । यसैगरी त्यस क्षेत्रमा रहेको कित्ता नम्बर ४४९, २६२, २६३, २६४, लगायत दर्जनांै कित्तामा सरकारी जग्गा घुसाएर हडपिएको थियो ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्