Logo

माधव नेपालको सांसद पद अब किन रहन्छ त ? : खगराज अधिकारी (भिडिओसहित)



काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद खगराज अधिकारीले गण्डकी प्रदेशमा माधव नेपाल समूहले बनाएको समानान्तर कमिटीलाई फेक भनेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओली पक्षधर नेता अधिकारीले भने,‘त्यो संरचना यति फेक छ, यति झुठ छ, अब चितवनबाट चुनाव लडेका, धादिङका सुरेन्द्र पाण्डे त्यसको संयोजक छन् । पार्टीले निलम्बन गर्यो अनुशासनहिन भनेर, यसै थाहा हुन्छ । त्यसकारण गण्डकीमा यसले खास तात्विक असर पार्दैन् । तर, इमानदार साथीहरु अन्यौलमा छन् । उहाँ पदको यति भोको हुनुहुन्छ । उहाँको पछि लागेर अवैधानिक भेलामा जो जो साथीहरु जानुभएको छ, त्यो गलत हो । मेयर साथीहरुको पनि नाम छ, पार्टीले कारबाही गर्छ ।’

पाण्डेले घोषणा गरेको कमिटीमा रहेकाहरु ९० प्रतिशत कोही पनि नबस्ने अधिकारीले जिकिर गरे । माधव नेपालले देशभरिका आफूसँग् ६ लाख कार्यकर्ता भएको भनेर गरेको दाबीमा कुनै सत्यता नभएको पनि अधिकारीको जिकिर छ । उनले माधव नेपाल अराजक र उदण्ड भएको पनि टिप्पणी गरे । उनले माधव नेपालको प्रचण्डसँग चोचोमोचो मिलाएको पनि आरोप लगाए । उनले नेता नेपाल प्रत्यक्ष रुपमा नेकपा (माओवादी केन्दू) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फन्दामा परेको पनि गम्भीर आरोप लगाए ।

एमाले फुटिसकेको हो त ? भन्ने प्रश्नमा अधिकारीले भने–‘एक/दुईजना चोईटिएर ठाउँ ठाउँबाट जानुभाछ, अनुशासनहिन, अराजक लिएर हिँड्नुभएको छ । सुध्रिने देखिएन । तर, यो पार्टी फुट्दैन् । यसमा तपाईँ प्रष्ट हुनुहोस् । माधव नेपालहरुमाथि गरिएको कारबाही जनताले स्विकार गरेका छन् । गुटबन्दी गर्नु महाअपराध हो । उहाँ माओवादीको नर्सरी हो । त्यसमा पनि प्रचण्डको खासगरी हो । विदेशीहरुलाई कम्फर्टेबल सरकार बनाउनको लागि, नर्सरी बन्न कोही पनि तयार हुनुहुन्न ।’ नेता नेपालले गरेका पछिल्लो गतिविधि अपराधपूर्ण र अक्षम्य भएको पनि उनले जनाए ।

पत्रकार धमलाले सोधेको अर्को प्रश्न ‘त्यसो भए माधव नेपालको सांसद पद नै जान्छ त ?’ भनेर सोध्दा अधिकारीले जवाफ दिए,‘किन रहन्छ त ? उहाँ कम्युनिष्ट नै नभएपछि, कम्युनिष्टलाई दिएको भोट किन राख्ने उहाँलाई ? यस्तो अपराधपूर्ण काममा संलग्न हुँदै निरन्तर जाने ? देशी÷विदेशी प्रतिक्रियावादीहरुलाई सघाउने, कम्युनिष्ट आन्दोलन ध्वस्त पार्नमात्रै लाग्नेलाई अब सांसदपनि किन राखिरहनुपर्यो र ?’



प्रतिक्रिया दिनुहोस्