Logo

नेपालमा कम्युनिस्ट पार्टीको कथाः एकता भन्दा फुट बढी



रिपोर्टर्स नेपाल टिम: ३ फागुन, २०७४ । नेपाली राजनीतिमा यो दिन कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार निर्माणको दिनका रूपमा चिनिएको छ । यसअघि कहिल्यै कम्युनिस्टहरूले एक्लैले बहुमत नल्याएको अवस्थालाई चिर्दै भारी बहुमत ल्याएपछि सरकार निर्माण गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई तिहाइको सरकारको प्रधानमन्त्री बनेका थिए । २०१५ सालको चुनावमा नेपाली कांग्रेसका तत्कालीन नेता बीपी कोइरालाले दुई तिहाइ ल्याएर प्रधानमन्त्री बनेका थिए । त्यसपछि कसैले पनि दुई तिहाइको सरकारको प्रधानमन्त्री नबनेको इतिहासको क्रम भंग भयो । कम्युनिस्ट नेता ओली दुई तिहाइको सरकारको प्रधानमन्त्री बने ।

रोम एक दिनमा बनेको थिएन । नेपालमा कम्युनिस्ट पार्टी पनि रातारात देशकै सबैभन्दा शक्तिशाली एक दिन, हप्ता, महिना र वर्षमा बनेका थिएनन् । उनीहरू ७० वर्षभन्दा लामो संघर्षबाट वर्तमानको अवस्थामा आइपुगेका हुन् । विदेशी भूमिमा जन्मिएको थियो नेपाल कम्युनिस्ट पार्टी । १० भदौ, २००६ मा कलकत्ताको सरकारी टोलालेनस्थित एकजना बंगालीको घरमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी र भाकपाका प्रतिनिधि अयोध्या सिंहसहितको पाँच सदस्यीय केन्द्रीय संगठन समिति गठन भएको थियो त्यो दिन । त्यही थियो कम्युनिस्टहरू नेपालमा फैलनुको आधार । जसले आज केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डजस्ता नेपाली राजनीतिका प्रभावशाली नेताहरूको उत्पादन गरेको छ ।

पश्चिममा विकास भएको कम्युनिस्ट सिद्धान्त भारतको बाटो हुँदै नेपाल भित्रिएको तथ्य भेटिन्छ । भारतमा बंगालमा कम्युनिस्टहरू प्रभावशाली थिए । त्यसैको असर नेपालमा पनि परेको थियो । कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको कारण यही थियो । प्रवासमा रहेका प्रगतिशील राजनीतिक धारका नेपालीहरूले कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । उनीहरूले सत्ताको केन्द्रमा आइपुग्न निकै लामो संघर्ष गरे । उनीहरूमाथि पटक पटक प्रतिबन्ध नै लाग्यो । १० माघ २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै लाग्यो । पञ्चायतकालमा पनि ३० वर्ष प्रतिबन्ध लाग्यो । संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली हुँदा तत्कालीन नेकपा माओवादीमाथि प्रतिबन्ध लागेको थियो । गणतन्त्रकालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि कम्युनिस्ट सरकारले नै प्रतिबन्ध लगायो । उक्त प्रतिबन्ध २०७७ सालको फागुन महिनामा फुकुवा भयो । कम्युनिस्टहरूबीच नै द्वन्द्व चलिरह्यो ।

२००७ साल देखि २०१७ सालबीचको प्रजातन्त्रकाल, पञ्चायतकाल हुँदै बहुदलीय प्रजातन्त्रसम्म पनि कम्युनिस्टहरू सत्ताको केन्द्रमा थिएनन् । तर, गणतन्त्र स्थापनापछि नेपालको राजनीतिको केन्द्रमा कम्युनिस्टहरू नै रहे । यस्तो समय पनि आयो कि सत्तापक्ष र प्रतिपक्ष नै कम्युनिस्टहरू देखिए । उनीहरूबीचको विवादले पटकपटक फुटको अवस्था पनि सिर्जना गरेको थियो ।

सत्तामा कम्युनिस्ट
नेपालमा कम्युनिस्टहरू लामो समय विद्रोही शक्तिका रूपमा रहेका कम्युनिस्ट नेताहरू सिद्धान्त त्यागेर मन्त्री बनेका धेरै घटनाहरू छन् । कम्युनिस्ट नेता केशरजंग रायमाझी दरबार नजिक पुगे । पञ्चायतकालमा पनि कतिपय कम्युनिस्ट नेता पञ्चमा परिणत भए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि राधाकृष्ण मैनालीलगायत केही कम्युनिस्ट नेता सत्तामा गए । उनीहरूमाथि कारबाही भयो । कम्युनिस्ट पार्टी नै सत्तामा पुगेको २०४७ सालको अन्तरिम शासनकालमा हो । त्यतिबेला कम्युनिस्ट पार्टीका नेताहरू सहाना प्रधान, झलनाथ खनाल र नीलाम्बर आचार्य मन्त्री बनेका थिए । २०४८ सालको चुनावमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बन्न सक्यो । २०५१ सालको मध्यावधि चुनावपछि कम्युनिस्टको एकमना अल्पमतको सरकार बन्यो । तर, त्यो सरकार ९ महिना मात्र टिक्यो । त्यसपछि कम्युनिस्टहरू सत्ताको वरिपरि नै रहे ।

रोचक पक्ष यो छ कि २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसभन्दा बढी समय कम्युनिस्टहरू सत्तामा रहे । संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा मनमोहन अधिकारी मात्र एकजना कम्युनिस्ट नेता थिए जो प्रधानमन्त्री बने । उक्त कालखण्डमा नेपाली कांग्रेसका नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री बने । पञ्चायती पृष्ठभूमिबाट आएका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री बने ।

देश गणतन्त्रको युगमा प्रवेश गरेपछि भने सबैभन्दा बढी सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले नै गरे । गणतन्त्रका प्रथम निर्वाचित प्रधानमन्त्री बने पुष्पकमल दाहाल प्रचण्ड । त्यसपछि कम्युनिस्ट नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र केपी शर्मा ओली गरी चारजना प्रधानमन्त्री बन्न सफल भए । प्रचण्ड र ओली दुई दुईपटक प्रधानमन्त्री बने । ओली नेपालको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कम्युनिस्ट नेता भइसकेका छन् । उनले एकै कार्यकाल तीन वर्षभन्दा बढी समय प्रधानमन्त्री बन्ने सफलता हासिल गरिसकेका छन् ।

कम्युनिस्टहरूमा फुट
नेपालमा कम्युनिस्टहरूमा विचारको बहस सर्वाधिक हुने गरेको देखिन्छ । तर, रोचक पक्ष यो छ कि उनीहरू कहिले विदेशी कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण त कहिले कुन व्यक्ति सत्तामा रहने भन्ने विषयमा फुट्ने गरेका छन् । २०५५ सालमा महाकाली सन्धिको विषय र भारतलाई हेर्ने दृष्टिकोणमा तत्कालीन नेकपा एमाले फुटेको थियो । मनमोहन अधिकारी अध्यक्ष र माधवकुमार नेपाल महासचिव रहेको एमालेबाट सहाना प्रधान अध्यक्ष र बामदेव गौतम महासचिव बनेर नेकपा माले दर्ता गरे । फुटेको दलमा कम्युनिस्ट पार्टीको महासचिव भइसकेका सीपी मैनालीलगायतका नेताहरूसमेत गएका थिए ।

नेकपा विभाजनको कारण सत्ता नै थियो । केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन खोज्दा नेकपा विभाजित भएको थियो । ५ पुस, २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद्को बैठक डाकी प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि ७ पुसमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अध्यक्ष बनाएपछि नेकपा विभाजन भयो । तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएपछि राजनीति नयाँ मोडमा पुग्यो । एमाले र माओवादी केन्द्र अलग्गै पार्टी बने ।

यसअघि धेरैलाई आश्चर्यचकित बनाउँदै एमाले र माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए । १७ असोज २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भयो । एउटै घोषणापत्रमा चुनाव लड्ने निर्णय गरे । तर, चुनाव चिह्न भने फरक नै राखे । दुई दलको गठबन्धनबाट चुनाव लडेर बहुमत हासिल गरेका थिए । ३ फागुन २०७४ मा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भएको थियो । उनीहरूले ३ जेठ २०७५ मा एकीकरण पनि गरे । तर, त्यो तीन वर्ष पनि टिकेन । नेकपा विभाजित भयो ।

नेपालमा कम्युनिस्टको उदय
कार्ल माक्र्सले साम्यवादको परिकल्पना गरेर माक्र्सवादको प्रतिपादन गरेपछि त्यसको प्रयोग रूसमा भयो । रूसमा लेनिन नेतृत्वको क्रान्तिले साम्यवादको प्रयोग गर्न खोज्यो । रूसको अक्टोबर क्रान्तिपछि लेनिनबाट स्टालिनको हातमा शासनसत्ता पुग्यो । स्टालिनले उद्योगधन्दा र जमिनहरू राष्ट्रियकरण गरे । दुई वर्गको व्यवस्था अन्त्य गर्ने स्टालिनको प्रयोगको प्रभाव संसारका धेरै मुलुकहरूमा भयो । मुख्यगरीः स्टालिनको कम्युनिस्ट शासनको प्रभाव चीनमा प¥यो । माओत्सेतुङको नेतृत्वमा चीनमा जनवादी क्रान्ति भयो । रूस र चीनका क्रान्तिहरूको असर एसियाका धेरै मुलुकहरूमा प¥यो । भारतका कतिपय राज्यहरूमा कम्युनिस्टहरू प्रभावशाली भयो । त्यसको वायु नेपालसम्म पुग्यो । राणा शासनको अन्त्यसम्म आइपुग्दा कम्युनिस्टहरूको संगठन मजबुत थिएन । बरु राणाविरोधी राणा र शाहहरू निकटहरूको संगठन मजबुत थियो । राजा र राणाको जुधाइँका क्रममा नेपाली कांग्रेसले संगठन निर्माण ग¥यो । त्यतिञ्जेलसम्म पनि कम्युनिस्टहरू संगठन विस्तार गर्ने अवस्थामा पुगेका थिएनन् । जब राणा शासनको अन्त्य भयो तब कम्युनिस्टहरूले भित्रभित्र संगठन विस्तार गर्दै लगे ।

२००७ सालको क्रान्तिमा नेपाल कम्युनिस्ट पार्टी औपचारिक रूपमा सहभागी रहेन । क्रान्तिमा धोका भएको भन्दै असन्तुष्टि जनाए । क्रान्तिपछि बनेको राणा—कांग्रेस सरकारलाई भारत र अमेरिकी सरकारको ‘हतियार’ भएको आरोप लगायो । २००८ सालमा तत्कालीन कांग्रेस सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । त्यसको पाँच वर्षसम्म कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध रहिरह्यो । २०१३ सालमा प्रतिबन्ध फुकुवापछि २०१५ सालमा चुनावमा सहभागी भयो । परिणाम कम्युनिस्टहरूको विपक्षमा गयो । नराम्रो हारपछि कम्युनिस्ट पार्टीहरूमा विचलन आयो । एउटा समूह शाही षड्यन्त्रको सहयोगी बन्यो ।

नेपालमा धेरै विषयहरू छिमेकी मुलुक भारत हुँदै प्रवेश गर्ने गरेजस्तै कम्युनिस्ट विचारमा समेत भारतका कम्युनिस्टहरूको प्रभाव छ । भारतको पश्चिम बंगालमा कम्युनिस्टहरू प्रभावशाली हुनुको प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव नेपालमा परेको देखिन्छ । नेपाल र भारतका कम्युनिस्ट पार्टीहरूबीचको निकट सम्बन्धले समेत यसलाई पुष्टि गर्छ । यतिसम्मकि पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालको पहिलो कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीको गठन हुँदा भारतीय कम्युनिस्ट पार्टीका एकजना प्रतिनिधि केन्द्रीय समितिमा थिए । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनादेखि विकासमा समेत छिमेकी भारतका कम्युनिस्टहरूसँगको सम्बन्धले भूमिका खेलेको छ । कम्युनिस्ट नेताहरूको भारतका कम्युनिस्ट र समाजवादी नेताहरूसँग प्रत्यक्ष सम्बन्ध रहँदै आएको छ । पञ्चायतकालमा होस् या राजाको प्रत्यक्ष शासनकालमा नै किन नहोस् दुवै देशका कम्युनिस्ट पार्टीहरूको सम्बन्धले विशेष काम गरेको छ ।

कम्युनिस्टको भविष्य
नेपालमा कम्युनिस्टहरू इतिहासकै बलियो स्थितिमा छन् । उनीहरूसँग प्रतिनिधिसभामा भारी बहुमत छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली सर्वशक्तिमान बनिरहेका छन् । तर, उनको अभिव्यक्ति र कार्यशैली कम्युनिस्ट आचरणविपरीत भएको भन्दै सहकर्मी नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतले लगाउने गरेका छन् । हुन पनि ओली पशुपतिनाथको क्षमा पूजा गर्ने, जलहरी राख्न बजेट विनियोजन गर्ने जस्ता कदम चाले । उनी मन्दिर निर्माण देखि आध्यात्मिक विषयमा जोड दिँदै सक्रिय भएपछि आशंकाहरू व्यक्त गरिएका छन् ।

रुसमा शीतयुद्धकालीन राष्ट्रपति मिखायल गोर्वाचोभले आफूलाई सत्ताच्युत गर्न सक्रिय भएका कम्युनिस्ट सहकर्मीमाथि कारबाहीको डन्डा चलाउने क्रममा पार्टी नै कमजोर पारे । कालान्तरमा रूसमा कम्युनिस्टहरू शिला खोज्नुपर्ने भएको छ । गोर्वाचोभपथले रूसमा भ्लादिमिर पुटिनजस्ता दक्षिणपन्थी शासकको जन्म नभएको छ । पुटिन सर्वशक्तिमान राष्ट्रपति बन्न सफल भएका छन् । यसैगरी, नेपालमा ओलीले आफूलाई सत्ताच्युत गर्न खोज्ने पार्टीका प्रतिस्पर्धी नेताहरूलाई कमजोर बनाउने र कारबाहीको डन्डा चलाउने क्रममा दक्षिणपन्थी धार समात्दै बढेको टिप्पणीहरू भइरहेका छन् ।

राणाकालदेखि वर्तमानसम्म कम्युनिस्टहरू

– साम्यवादी पुस्तक अध्ययन गर्ने प्रथम नेपाली जयपृथ्वीबहादुर सिंह ।
– १९९७ सालमा गंगालाल श्रेष्ठको घरमा खानतलासी गर्दा साम्यवादी रचनाहरू फेला परेको ।
– कोइराला परिवारमा कम्युनिज्मबारे चर्चा हुन्थ्यो, बीपी कोइराला माक्र्सवादबाट प्रभावित ।
– टंकप्रसाद आचार्य कम्युनिस्ट पार्टीसँग निकट भएको र साम्यवादी विचारबाट प्रभावित ।
– २३ चैत्र २००५ सालमा पुष्पलाल श्रेष्ठद्वारा माक्र्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गरी प्रकाशन ।
– १० भदौ २००६ मा कलकत्ताको सरकारी टोलालेनस्थित एकजना बंगालीको घरमा पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना ।
– सोही दिन पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी.पी.अधिकारी र भाकपाका प्रतिनिधि अयोध्या सिंहसहितको पाँच सदस्यीय केन्द्रीय संगठन समिति गठन ।
– ३० भदौ २००६ सालमा पुष्पलालद्वारा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशनसहित नेपाल कम्युनिस्ट पार्टीको विधिवत् स्थापना घोषणा ।
– २००७ सालको क्रान्तिमा नेपाल कम्युनिस्ट पार्टीको औपचारिक सहभागिता रहेन ।
– क्रान्तिपछिको राणा—कांग्रेस सरकारमाथि भारत र अमेरिकी सरकारको ‘हतियार’ भएको आरोप ।
– १० माघ २००८ सालमा तत्कालीन कांग्रेस सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध ।
– २०१३ सालमा कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा ।
– २०१५ सालको चुनावमा सहभागी, चुनावमा नराम्रो हार ।
– २०१७ साल पुस १ गतेको कूपछि बिहारको दरभंगामा नेपाल । कम्युनिस्ट पार्टीका विस्तारित बैठक ।
– चीनपन्थी र सोभियत पन्थी हुन पुग्दा नेपाल कम्युनिस्ट पार्टी विभाजित ।
– २०२७ सालमा कोअर्डिनेसन कमिटी (माले) को गठन ।
– २ जेठ २०२८ सालमा झापा विद्रोहका रूपमा सशस्त्र कम्युनिस्ट पार्टीबाट हिंसात्मक गतिविधि सुरु ।
– २५ जेठ २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन ।
– २०३६ सालको जनमतसंग्रह नेकपा मालेद्वारा बहिष्कार ।
– नेकपा मालेद्वारा २९ वैशाख २०४३ मा भएको राष्ट्रिय पञ्चायतको दोस्रो महानिर्वाचनको ‘क्रान्तिकारी उपयोग’ ।
– ५ वैशाख २०४७ सालमा नेकपा मालेको भूमिगत राजनीति समाप्त ।
– २२ पुस २०४७ सालमा नेकपा माक्र्सवादीबीच एकता भई नेकपा एमाले गठन ।
– २०४८ सालको निर्वाचनमा नेकपा एमाले ६६, संजमो ९, नेमकिपा ४ गरी कम्युनिस्टहरूलाई स्थान ।
– २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले कुल २०५ स्थानमध्ये ८८ मा जितसहित संसद्मा पहिलो पार्टी, नेमकिपालाई ४ स्थान ।
– मनमोहन अधिकारी नेपालको प्रथम कम्युनिस्ट प्रधानमन्त्री ।
– नेकपा एकता केन्द्रको संस्थापन पक्षद्वारा चितवनको ज्यामिरेमा प्रथम राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) गठन, महासचिवमा प्रचण्ड निर्वाचित ।
– १ फागुन २०५२ सालमा नेकपा माओवादीद्वारा ‘जनयुद्ध’ आरम्भ ।
– २६ जेठ २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा संसद् विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस; सर्वोच्च अदालतमा परेको रिटको १२ भदौ २०५२ को फैसलाअनुसार संसद् पुनस्र्थापना ।
– २०५५ मा ‘महाकाली सन्धि’को विषयमा विवाद चुलिँदै नेकपा एमाले विभाजित ।
– २० वैशाख २०५६ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई ७१ स्थान ।
– ४ फागुन २०५८ सालमा नेकपा एमाले र नेकपा मालेबीच एकता ।
– १२ मंसिर २०६२ सालमा सात राजनीतिक दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौता ।
– २८ चैत्र २०६४ मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल ३३२ स्थानमा एमालेलाई ३१ र माओवादीलाई ११८ स्थान ।
– ३१ साउन २०६५ सालमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री ।
– ११ जेठ २०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री ।
– २३ माघ २०६७ मा झलनाथ खनाल प्रधानमन्त्री ।
– – १२ भदौ २०६८ मा डा.बाबुराम भट्टराई प्रधानमन्त्री ।
– २५ असोज २०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री ।
– २० साउन २०७३ मा प्रचण्ड प्रधानमन्त्री ।
– १७ असोज २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन, एउटै घोषणापत्रमा चुनाव लड्ने निर्णय ।
– ३ फागुन २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय ।
– ३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री ।
– १७ असोज, २०७५ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ६ बुँदे सहमति, चुनावी तालमेल र एकीकरण घोषणा ।
– ३ जेठ, २०७५ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण, एमालेलाई २४१ र माओवादीलाई २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन, स्थायी कमिटीमा एमालेलाई २६ र माओवादीलाई १९ गरी कुल ४५, सचिवालयमा एमालेलाई ६ र माओवादीलाई ३ गरी कुल ९, अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ।
– ५ पुस, २०७७ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद्को बैठक डाकी प्रतिनिधिसभा विघटनको सिफारिस । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोही दिन सदर गरी वैशाखमा दुई चरणको चुनावको घोषणा ।
– ५ पुस, २०७७ नेकपा विभाजन । प्रचण्ड र माधवकुमार नेपाल समूहद्वारा ओलीमाथि कारबाहीको निर्णय ।
– ११ फागुन, २०७७ । सर्वोच्च अदालतको संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर । प्रतिनिधिसभा बैठक १३ दिनभित्र राख्न आदेश ।
– २३ फागुन, २०७७ । सर्वोच्च अदालतद्वारा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलद्वारा दायर मुद्दामा फैसला । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने गरी आदेश जारी ।
– २५ फागुन, २०७७ । निर्वाचन आयोगद्वारा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई १५ दिनभित्र एकीकरण गरी नयाँ नाम दर्ता गर्न या पुरानै अवस्थामा दल नवीकरण गर्न सूचना जारी ।
– २८ फागुन, २०७७ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अध्यक्ष र महासचिवबाहेक निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्य पद खारेज ।
– १६ चैत्र, २०७७ । नेकपा एमालेका अध्यक्ष ओलीद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन

रिपोर्टर्स क्लब नेपालको स्मारिकाबाट साभार



प्रतिक्रिया दिनुहोस्