Logo

बिस्काको रथ निर्माणमा जुटे स्थानीय



भक्तपुर, चैत २१ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्काः (बिस्केट) जात्राको रथ निर्माणमा स्थानीय जुटेका छन् । अहिले भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँच तले मन्दिर अगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माण भइरहेको छ ।

यो रथ ३५ फिट अग्लो तीन तले प्यागोडा शैलीमा निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिए । रथमा १० फिट अग्ला चारवटा पाङ्ग्रा हुनेछन् ।नाइके शिल्पकारले भने, “यस वर्ष पाङ्ग्रा, गल, पोल्ह (छाना) र बाहिर देखिने अधिकांश सामान सबै नयाँ छन् ।’ चैत २८ गते सुरु हुने जात्राका लागि अहिले तयार गर्नुपर्ने बताउँदै उनले भैरवको बाहिरी ढाँचा तयार भइसकेको जानकारी दिए ।

परम्परागत शैलीमा बनाइने भैरवनाथको रथमा आधुनिक किलाको प्रयोग नहुने रथ निर्माणमा सहयोग गरिरहेका मोहित ख्वाखःले बताए । नाइके शिल्पकारले किलालगायतका आधुनिक सामग्री प्रयोग गरिए रथ बलियो नहुने दाबीसमेत गरेक छन्।

भैरवनाथको रथलाई मोटो डोरीको सहायताले दुवैतिरबाट तानिन्छ । रथलाई आ–आफ्नो टोलतिर लैजान प्रतिस्पर्धा हुने भएकाले रथ बलियो हुनुपर्छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ र चार दिन पछिसम्म चल्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot