Logo

घरवासमा चहलपल बढ्दै



– तारानाथ आचार्य बलेवा, २१ चैत : कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

जिल्लामा पहिलोपटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरवास भकुण्डेमा पछिल्लो एक महिनायता बिदाका दिनमा पर्यटक पुग्ने गरेका छन् । जिल्लाका झण्डै तीन दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अधिकांश घरवास सेवा विस्तारै शुरु हुन थालेको अतिथि सत्कार सामुदायिक घरवास बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएका घरवास पहिलेका जस्तो भरिभराउ भने हुन् सकेका छैनन् तर कोरोना महामारीको समयमा ठप्प रहेका घरवासमा विस्तारै चहलपहल देखिन थालेको हो । काठेखोला गाउँपालिका–७ रेशमा सञ्चालनमा रहेको डोटा देउराली सामुदायिक घरवासमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । स्थानीय खानाको स्वाद र घरवास आसपासमा रहेका पर्यटकीय क्षेत्रमा घ्ुम्नका लागि त्यहाँ पुग्नेको सङ्ख्या धेरै छ ।

घरवासबाट देखिने प्राकृतिक दृश्यका साथै स्थानीय जातजातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको डोटा देउराली सामुदायिक घरवास रेशका सञ्चालक प्रेमबहादुर थापाले बताउनुभयो । “स्थानीय कुखुरा र कोदोको ढिँडो खोज्दै बजारदेखि गाउँ आउने धेरै छन्”, थापाले भन्नुभयो, “एक वर्ष हात पट्याएर बसियो, अहिले विस्तारै मान्छे आउन थालेका छन् ।”

कामको सिलसिलामा गाउँमा पुग्नेका लागिसमेत गतिलो आवास बन्ने गरेका छन् यहाँका घरवास । विभिन्न योजना र परियोजनाका काम लिएर गाउँ पुग्ने घरवासमा बसेर रमाउने गरेको थापाले बताउनुभयो । बागलुङका गाउँमा रहेका होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि केही गाउँका घरवास सेवामूलक हिसाबले नै सञ्चालनमा रहेका छन् ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभँेडाबाट बनाएको चटनी, स्थानीयरुपमा उत्पादन भएका मकैलगायतका स्थानीय खानाले धेरैलाई लोभ्याउँछ । “कोरोना महामारीको दोस्रो लहरको त्रास छ, तै पनि गाउँघरमा चहलपहल विस्तारै बढ्दै छ”, रेश सामुदायिक घरवासका सञ्चालिका उजेली शर्माले भन्नुभयो, “पाहुना आएपछि काम बढ्छ, काम बढ्दा आम्दानी नहुने कुरै भएन ।” रेशका अधिकांश घरमा स्थानीय जातका कुखुरा पालिएको र नजिकैको जङ्गलमा पाइने बाँकोबाट गुन्द्रुक बनाएर राखिएको छ । कोरोना महामारीपछि विस्तारै बढेको चहलपहलले घरवास सञ्चालकमा उत्साह छाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्