सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार


सुर्खेत, चैत २२ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्।

‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।’ उनले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको बताइन्। रेग्मी माओवादी केन्द्रकोतर्फबाट कार्य व्यवस्था परामर्श समितिमा पनि थिए। अव कार्य व्यवस्था परामर्श समितिमा रेग्मीको ठाउँमा माओवादी केन्द्रले रातो कामीलाई पठाउने निर्णय गरेको छ। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro