Logo

महन्थ र रामचन्द्रबीच भेटवार्ता, सत्ता सहकार्यबारे छलफल



काठमाडौं, २२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । ठाकुर निवास हात्तिवनमा आज (आईतबार) विहान उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको हो ।

उक्त भेटवार्तामा सत्ता सहकार्यको विषयमा छलफल भएको जनाईएको छ । स्रोतकाअनुसार नेता पौडेलले कांग्रेस, नेकपा (माओवादी कैन्द्र) र जसपा मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, जवाफमा ठाकुरले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर गरेको निर्णयमा आफ्नो असन्तुष्टि पोखेका थिए । उनले त्यो निर्णय लिनुभन्दा पहिले आफूहरुसँग सहमति गर्नुपर्दैन थियो ? भन्ने प्रश्न राखेको पनि स्रोतले जनाएको छ ।

पछिल्ला समय जसपा सत्ता समिकरणको लागि निर्णायक शक्ति बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष ठाकुर निरन्तर सम्वाद र सम्पर्कमा छन् । जसपाको माग पूरा गर्नको लागि प्रधानमन्त्री सकारात्मक भएको कुरा बाहिर आईरहेका छन् ।

तर, जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने ओलीसँग सहकार्य गर्न नहुने अडानमा छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ । र, यही बेलामा कांग्रेस वरिष्ठ नेता पौडेलले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्