Logo

जसपा प्रवेश गर्न दिपक बोहराले गरेका थिए विभिन्न चरणमा कुराकानी



काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दिपक बोहराले जनता समाजवादी पार्टी प्रवेशका लागि विभिन्न चरणमा कुराकानी गरिसकेका छन् । उनले जसपाका प्रभावशाली नेताहरुसँग बैठक बसेर महत्वपूर्ण पद समेत मागेका छन् ।

रिपोर्टर्स नेपाललाई प्राप्त सूचना अनुसार बोहराले वरिष्ठ नेता या कुनै महत्वपूर्ण पद मागेका थिए । तर, पद दिनेमा कुरा मिल्न सकिरहेको छैन ।

रुपन्देही चुनावी क्षेत्र रहेका बोहराले आउँदो निर्वाचनलाई विचार गरेर जसपा प्रवेशको प्रक्रिया बढाएका हुन् । उनले गएको निर्वाचनमा नेकपा एमालेका घनश्याम भुसालसँग हार व्यहोरेका थिए । अबको चुनावमा बोहरालाई झन् चुनौती छ । उनी चुनाव लडेको क्षेत्र काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड चुनाव लड्ने गरेको क्षेत्र हो । यसअघि नेपाली काँग्रेससँग चुनावी गठबन्धन भएर बोहराले साथ पाएका थिए । खाँड समानुपातिकतर्फको चुनाव लडेका थिए ।

अबको चुनावमा बोहराको चुनावी भिडन्त त्रीपक्षीय हुने भएपछि उनले जसपालाई उपयुक्त मानेर कुरा अगाडि बढाएका थिए । तर, उनको प्रयास अन्तिम समयमा सकारात्मक हुन नसकेको बुझिएको छ । बोहरालाई रोक्न राप्रपाबाट जसपामा गएका केही नेताहरु नै सक्रिय भएको बुझिएको छ ।

यसैगरी, रिपोर्टर्स नेपालले बोहराले राप्रपा छाड्न लागेको खबर प्रकाशित गरेपछि फेसबुकमा लेख्दै खण्डन गरेका छन् । उनले राप्रपा नछाड्ने र सिद्धान्तप्रति विचलित नहुने दाबी गरेका छन् । तर, रिपोर्टर्स नेपाललाई उनले जसपा प्रवेशका लागि विभिन्न चरणमा गरेको कुराकानीको प्रमाण फेला पारेको छ ।



प्रतिक्रिया दिनुहोस्