Logo

भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा



काठमाडौं, चैत २४ । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् ।

होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् । यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।

होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।

‘काठमाडौंमा केही भारतीय आउन थालेका छन्,’ शाक्यले भने, ‘उनीहरू पर्यटकको रूपमा भन्दा पनि खाडी मुलुकहरूमा काम गर्न जानेहरू हुन् । काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि अन्य देश जाने गरेका छन् ।’ यसले होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार देखिएको छ । कोरोना भाइरस र त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि हवाई उडान खुला हुँदा करीब २ देखि ३ प्रतिशतसम्म अकुपेन्सी थियो । अहिले त्यसमा झीनो सुधार हुँदै विगत २० दिनयता झन्डै ५ प्रतिशत पुगेको छ ।

मार्चमा झन्डै १५ हजार पर्यटक नेपालमा आएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले अहिलेको संख्या अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्