Logo

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो



काठमाडौं, चैत २४ । नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो। वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६ वायू प्रदूषण सूचकांक (एक्युआई) सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ।

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको छ। वातावरण विभागको तथ्यांकअनुसार रारा तालनजिकै राखिएको प्रदूषण मापन स्टेसनले गत २४ घण्टाको सरदर एक्युआई २१० पुगेको देखाएको छ। एक्युआई २०० देखि ३०० सम्म रहेको अवश्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले ‘अत्यन्त अस्वस्थकर’ मानिन्छ।

प्रदूषणको यो तह मानव स्वास्थ्यका लागि संवेदनशील प्रकृतिको हुने भएकाले सकेसम्म घरभित्रै रहन उपयुक्त ठानिन्छ। रारामात्र होइन, प्रदूषणको हिसाबले धनगढी, भरतपुर, सिमरा तथा सौराहा सबैभन्दा अघि रहे। ती स्थानमा सोमबार एक्युआई ३ सय नाघेको छ। ३०० देखि ४०० सम्मको एक्युआई जनस्वास्थ्यको हिसाबले घातक मानिन्छ। गत वर्ष जारी गरिएको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआईले ३ सय अंक नाघेमा प्रदूषणका हिसाबले विपद्को स्थिति भनिएको छ।

सोमबार राजधानीको आकाशमा बादल नभए पनि तुवाँलोले सूर्यको प्रकाश छेकेका कारण वातावरण धुम्मिएको थियो। राजधानीका विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषण मापक स्टेसनले सोमबार काठमाडौंको हावा अस्वस्थकर रहेको देखाए। कीर्तिपुर, रत्नपार्क, भक्तपुर तथा भैंसेपाटीमा रहेका वायु प्रदूषण मापन केन्द्रले पछिल्लो २४ घण्टामा एक्युआई २०० देखि २५० सम्म पुगेको देखाए। गत बुधबार पानी परेपछि राजधानीले केही राहत पाएको थियो।

त्यसपछि पानी पर्न रोकिएको र वायुको गति पनि कमजोर भएकाले राजधानीको आकाशमा रहेका प्रदूषणका घातक कण सफा हुन पाएका छैनन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अगामी २–३ दिन मौसममा सुधार आउने सम्भावना छैन। ‘अहिले काठमाडौंको वायुमण्डल स्थिर छ। यस्तो बेला प्रदूषणका कण छरिन र बाहिरिन पाउँदैनन्,’ उनले भने। मंगलबार र बुधवार कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने उनले बताए।

देशव्यापी रूपमा जंगलमा डढेलो लागे पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। वन तथा भूसंरक्षण विभागको अनलाइन फायर एलर्टका अनुसार सोमबार साँझ देशका ६० जिल्लाका ५ सय ३० स्थानमा डढेलो लागेको छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल भारत तथा नेपालको तराई क्षेत्रमा किसानले छैमल बाल्दा निस्कने धुवाँ, वनमा लागेको डढेलो र राजधानीका लाखौं सवारीसाधनका कारण प्रदूषण बढेको तर्क गर्छन्। उनले सुरक्षा निकाय तथा स्थानीय सरकाले आफ्नो हिसाबले डढेलो नियन्त्रण प्रयास गरेको दाबी गरे। ‘वनक्षेत्र प्रदेश सरकारको जिम्मामा छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्