Logo

घरजग्गा सम्पत्तिको धितोमै अधिक कर्जा प्रवाह



काठमाडौं, चैत २५ । बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । कुल कर्जा प्रवाहको सबैभन्दा बढी अंश स्थिर तथा चालू सम्पत्ति धितो राखेर बैंकहरूले कर्जा दिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा कुल कर्जाको ८७ दशमलव ७८ प्रतिशत अंश सम्पत्ति धितोमा प्रवाह भएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत आवको ८ महीनासम्ममा प्रवाहित कुल कर्जा ३८ खर्ब ४६ अर्ब रुपैयाँमध्ये सम्पत्ति धितोमा रू। ३३ खर्ब ७६ अर्बको कर्जा प्रवाह भएको छ । गत आवको फागुनमा कुल कर्जा ३२ खर्ब १३ अर्ब प्रवाह भएको थियो । गत आवको सम्पत्ति धितोमा प्रवाह भएको कर्जाको अंश ८९ दशमलव २९ प्रतिशत थियो । अर्थात् रू। २८ खर्ब ६९ अर्बको कर्जा सम्पत्ति धितोमा प्रवाह भएको थियो । गत आवको तुलनामा चालू आवको फागुनसम्ममा यस्तो कर्जा १७ दशमलव ६७ प्रतिशत थप प्रवाह भएको छ ।

कतिपय देशहरूमा विनाधितो कर्जा प्रवाह हुने भए पनि बढी सुरक्षित हुन सम्पत्तिकै धितो लिएर कर्जा प्रवाह गर्न सहज भएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी बताउँछन् । ‘बढी कर्जा धितोमै दिएका छौं । अझ घरजग्गा धितो लिन सहज हुन्छ । सम्पत्तिको धितोमा समस्या नआउला भनेर हो । तर, सम्पत्तिको मूल्य घटे बैंकले गरेको भ्यालुएशनमा समस्या आउन सक्छ । यसैले अहिले सम्पत्तिको धितो मात्रै हेरेरभन्दा ऋणीले कर्जा तिर्न सक्ने क्षमता हेर्न पनि जरुरी छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा धितोको अधिक अंश ओगटेको सम्पत्तिअन्तर्गत पनि घरजग्गा, मेशिनरी तथा उपकरण, फर्निचर तथा फिक्स्चर, सवारीसाधनलगायत धितोमा कर्जा प्रवाह गर्न बैंकहरू बढी इच्छुक भएको तथ्यांकमा देखिन्छ । बैंकहरूले चालू सम्पत्ति धितो पनि राख्ने गरेका छन् । यसअन्तर्गत कृषि पैदावार, धानचामल, कच्चपदार्थ, अर्ध तथा पूर्ण तयारी वस्तु, कपडा, नुन, चिनी, तेललगायत वस्तु रहेका छन् ।

बैंकहरूले विभिन्न संस्थाको जमानीमा समेत कर्जा प्रवाह गर्ने गर्छन् । यसमा कुल कर्जाको ४ दशमलव १७ प्रतिशत प्रवाह गरिएको छ । कुल कर्जामा दोस्रो बढी अंश ओगटेको जमानत धितोमा १ खर्ब ६० अर्ब रुपैयाँँ बराबरको कर्जा प्रवाह भएको छ । यसअन्तर्गत सरकारी जमानी, संस्थागत जमानी, व्यक्तिगत जमानी , सामूहिक जमानी, अन्तरराष्ट्रिय श्रेणीकृत विदेशी बैंकलगायतको जमानतमा कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । बैंकमा सुनचाँदी धितो राखेर रू। ४२ अर्ब ५७ करोड बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्