Logo

जर्नादनलाई रोकेर बादललाई गृहमन्त्री नबनाएकोमा प्रचण्डको पछुतो



काठमाडौं, २५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुम पश्चिम पुगेर आक्रोश पोखेसँगै आत्मालोचना समेत गरे । उनले सिधै गृहमन्त्री रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएर गल्ती गरेको बताए । बादलतर्फ संकेत गर्दै २०७० सालको संविधानसभा चुनावमा आफूमाथि बम हानेको आरोप लगाए ।

प्रचण्डले बादललाई गृहमन्त्री बनाएर गल्ती गरेको बताइरहँदा घुमाउरो तरिकाले जर्नादन शर्मा प्रभाकरलाई मन्त्री नबनाएर गल्ती गरेको सन्देश प्रवाह गरिरहेका थिए । आफूलाई कठिन अवस्थामा साथ दिनेप्रति भन्दा पार्टी फुटाउने र आफैलाई आक्रमण गर्नेहरुलाई मन्त्री बनाएर गल्ती गरेको बताए । उनले भने,‘म रुकुमेली जनतासामु आत्मालोचना गर्न पनि आएको हुँ ।’

कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बन्दा गृहमन्त्रीमा बादलसँगै जर्नादन शर्मा प्रभाकरको पनि चर्चा थियो । माओवादी कोटामा बादलले गृहमन्त्री बनेर बाजी मारे । प्रभाकर मन्त्री समेत बनाइएनन् । प्रचण्डले बादललाई नै गृहमन्त्री बनाउँदा प्रभाकर असन्तुष्ट भएका थिए । त्यतिबेला प्रभाकरलाई बनाउन खोजेका उनी अन्तिम समयमा परिवर्तित भएका थिए । तर, कठिन समयमा प्रभाकरले प्रचण्डको साथ छाडेनन् । त्यसैले प्रभाकरको गृहजिल्ला रुकुम पुगेर प्रचण्डले आत्मालोचना गरे ।

यसैगरी, प्रचण्डले बादलमाथि कडा बोली बोल्न थालेका छन् । उनलाई बम हानेको आरोप समेत लगाए । बादलले पनि प्रचण्डलाई जाउलाखेलको जुमा लगेर थुन्ने धम्की दिइसकेका छन् । कुनैबेला साथै जनयुद्ध लडेका प्रचण्ड र बादलबीच विगतमा पनि द्वन्द्वात्मक सम्बन्ध छ । बादलमाथि जनयुद्धकालमै सांस्कृतिक विचलनको आरोप लागेको थियो । माओवादी केन्द्रका नेता देव गुरुङले बादलमा सांस्कृतिक विचलन जनयुद्धकालमै रहेको रेडियो एनआरएनसँगको अन्तवार्तामा भनेका छन् ।

बादल प्रचण्डबाट अलग भई दोस्रो संविधानसभा चुनावमा अर्को पार्टी खोल्ने समूहमा लागे । चुनाव बहिष्कारमा समेत सहभागी भए । अघिल्लो संसदीय चुनावमा माओवादीमा फर्किए । उनी चुनाव लडेनन् । राष्ट्रिय सभाको सांसद बनेर गृहमन्त्री बन्न सफल भए । तर, माओवादीको कोटामा मन्त्री बनेका बादल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहमा लागे । अहिले उनी नेकपा एमालेको बागमती प्रदेश कमिटीको इञ्चार्ज बनाइएका छन् ।



प्रतिक्रिया दिनुहोस्