Logo

बदलिँदो जीवनशैलीका कारण भयावह मधुमेह



जब मानवीय व्यवहार प्रकृतिका विरुद्ध जान थाल्छ, त्यसपछि रोगको विकास हुने हो । यसै पनि रगतमा चिनी वा चिल्लो मात्रा हुनु अस्वाभाविक होइन तर त्यसको प्रयोग भएन भने रोगको रुप लिन्छ । दक्षिण एसियाली क्षेत्रमा मधुमेह हुनुको कारण वंशाणुगत हो । यस क्षेत्रका जातिमा वंशाणुगत रुपमै चिनीको मात्रा उच्च देखिन्छ । चीन र भारतलाई मधुमेहको खतरा धेरै भएका मात्रै होइन, रोगीको संख्या पनि उच्च भएका देश भनिरहँदा बीचको नेपाल पनि अछुतो छैन ।

दक्षिण एसियाली क्षेत्रका बासिन्दाको खानपानमा पहिले ग्लुकोजको मात्रा कम हुन्थ्यो । हाम्रो पुर्खाहरुले खानामा भातभन्दा बढी तरकारी र फलफूल खान्थे । त्यसैगरी चिल्लो पदार्थ उच्च भएका खाना पनि नियमित हुन्थेनन् । यस क्षेत्रका बासिन्दाको जीवनशैली कडा शारीरिक श्रम हो । कृषि कार्य गर्ने भएकाले कडा शारीरिक श्रम गर्नुपथ्र्यो ।

बाह्य स्रोतबाट चिनीको आपूर्ति कम तर खपत धेरै हुने भएपछि यो क्षेत्रका जातिको रगतमा प्राकृतिक रुपमै चिनीको मात्रा उच्च रहन्थ्यो । त्यो प्रक्रिया वंशाणुगत रुपमा सर्दै गयो तर अहिले आएर जीवनशैलीमा एकाएक परिवर्तन आयो । भौतिक सुख सुविधाका कारण शारीरिक परिश्रम घट्यो र पश्चिमा देशको खानपान अपनाइयो । जुन प्रकृतिअनुसार ठीक उल्टो भयो । शरीरमा ग्लुकोजको बाह्य आपूर्ति उच्च भयो भने शाररिक परिश्रम कम भयो । यसले यो क्षेत्रमा मधुमेहको समस्या निकै बढाएको छ ।

विश्वमा महामारीका रुपमा फैलिरहेको मधुमेहसम्बन्धी प्रशस्त जानकारी दिइँदै आइएको छ । यसबारे जति धेरै सूचना र सचेतना प्रवाह भइरहेको छ, त्यही अनुसार भ्रम पनि बढ्दै गएका छन् । रोगबारे भ्रम फैलिँदा सर्वसाधारणको स्वास्थ्य संकटमा पर्छ ।

बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएको मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर २०० मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ ।

एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । आठ घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको दुई घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।

मधुमेहका कारण आँखा, किड्नी, मुटु, मिर्गौलामा क्षति पुग्ने कुरा धेरैलाई थाहा छ । अति संवेदनशील अंग भएकाले यिनलाई जोगाउन मान्छेहरुले बेला–बेला चेकजाँच गरिरहेका पनि हुन्छन् । तर विश्वमा हरेक ३० सेकेन्डको अन्तरमा एक जनाले मधुमेहकै कारण खुट्टा गुमाइरहेको छ । मधुमेह भइसकेकाले खुट्टाको उचित हेरचाह गर्न नसक्दा यस्तो अवस्था आएको हो । मधुमेह भएपछि ब्रेनको सबभन्दा टाढाको अंग खुट्टाको चेतनास्तर कमजोर हुन्छ । जसले गर्दा घाउचोट लाग्ने सम्भावना उच्च रहन्छ । मधुमेह भएपछि हरियो दुबोमा हिँड्नुपर्छ भन्ने ठूलो भ्रम छ । यो सबैभन्दा खतरानाक हो । किनभने खाली हिँड्दा त्यहाँ रहने कुनै पनि वस्तुले खुट्टामा घाउ लगाउन सक्छन् । यो रोग भएका बिरामीको घाउचोट सन्चो हुने सम्भावना कम हुने भएकाले त्यो घाउ क्यान्सरमा परिणत हुन सक्छ ।

तातोपानीले खुट्टा धुने नाउँमा असाध्यै तातोपानी पर्न सक्नेतर्फ होसियार हुनुपर्छ । जहिले पनि तातोपानी प्रयोग गर्नुअघि हातले त्यसको ताप मापन गर्नुपर्छ । सुतीको मोजा लगाउने गर्नुपर्छ, जसले पसिना सोस्छ । जुत्ता किन्दा बेलुका मात्रै किन्नुपर्छ । किनकि दिनभरि सुन्निएको खुट्टा बिहान सुक्छ, फेरि दिनमा सुन्निन्छ । बिहान किनेको जुत्ता दिउँसो टाइट भएर फोका उठाउने हुन सक्छ । खुट्टालाई सफा राख्नुपर्छ, धोएपछि औंलाको काप पनि धुने गर्नुपर्छ । पैताला सधैँ हेर्नुपर्छ, यत्तिकै हेर्न कठिन हुने हुनाले ऐना देखाउनुपर्छ ।

मधुमेहले आँखामा पनि असर गर्छ । जसमध्ये सबैभन्दा भयानक आँखाको पर्दा (रेटिना)मा पार्ने असर हो । जसलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ । आँखामा विशेष प्रकारको रगतको नसा हुन्छ । मधुमेहले रगतको नलीमा असर पारेमा नलीबाट कण बाहिर निस्किन पाउँदैन । जसले गर्दा रगतको नलीबाट विस्तारैविस्तारै चिल्लो पदार्थ निस्किन थाल्छ । यो चिल्लो पदार्थ आँखाको रेटिनामा जम्न थाल्छ । यसरी जम्दै जाँदा आँखाको देख्ने शक्ति कम हुँदै जान्छ ।

अर्को असर भनेको मधुमेहले आँखामा रहेका सानासाना रक्तनली बन्द गराउँछ । जसले गर्दा रेटिनामा रगत पुग्दैन र रेटिनाले रगत माग गर्छ । जसले गर्दा नयाँनयाँ मसिना रगतका नली बढ्दै जान्छन् । यसरी बढ्दै जाँदा रगतका नली फुट्न गई आँखामा रक्तस्राव हुन थाल्छ र दृष्टिशक्ति नै गुम्छ । त्यसैले मधुमेह भएका व्यक्तिले अनिवार्य रुपमा आँखाको जाँच गराउनुपर्छ ।

मधुमेहका बिरामीमा अन्यलाई भन्दा चाँडो स्नायुको समस्या देखिन्छ । मधुमेहको प्रत्यक्ष असरमा मस्तिष्कघात हुन जान्छ भने अप्रत्यक्ष रूपमा पनि नसामा विभिन्न क्षति पुर्याउँछ । यसले नसामा असर पुर्याउँदा हातखुट्टा झमझम गर्ने, पोल्ने र असहज महसुस हुने, आन्द्राको प्यारालाइसिस, राति पसिना आउने, छाला सुख्खा हुने हुन्छ । नसाका तीनवटै प्रणालीमा मधुमेहको असर हुन्छ ।

नेपालको परिप्रेक्ष्यमा मिर्गौला फेल हुने कारणमध्ये मधुमेह सबैभन्दा मुख्य कारण मानिन्छ । पिसाबमा प्रोटिनको मात्रा ३०० सयभन्दा बढी देखियो भने मिर्गौलामा समस्या आइसकेको मानिन्छ । यसलाई रोक्न सकिन्छ, निको हुन सक्दैन । त्यसैले मधुमेह देखिएपछि बेला–बेलामा पिसाब जाँच्नु जरुरी छ । यदि प्रोटिनको मात्रा ३० भन्दा माथि र ३०० सयभन्दा कम देखियो भने मिर्गौला जोगाउन सकिन्छ । पिसाब जाँच्दा बिहान उठ्नबित्तिकैको मध्यधार जँचाउनुपर्छ ।

मधुमेहका बिरामीको रगतमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ । यसले रगतको नली थुनिएर हृदयाघातको खतरा बढी हुन्छ । यसमा हृदयाघात हुँदा बिरामीको छाती दुख्दैन । त्यसैले यसलाई सूक्ष्म हृदयाघात भनिन्छ । यस्तो हृदयाघातको मृत्युदर बढी हुन्छ । चिल्लो काट्ने औषधिले यो रोकथाम गर्न सकिन्छ ।

मधुमेहको नियन्त्रण नहुँदा यौन क्षमतामा ह्रास आउँछ । यसका लागि मधुमेह र उच्च रक्तचाप ठीक राख्नुपर्छ । प्रायः उच्च रक्तचापको औषधिले यस्तो समस्या पनि देखिन्छ ।

नेपालीमा देखिएको मधुमेहको मूल कारण बदलिँदो जीवनशैली नै हो । अब हामीले यो रोगबाट जोगिन फेरि पुर्खाकै जस्तो जीवनशैली अपनाउन सक्छौँ । खानामा भात कम तरकारी र दाल बढी खान सकिन्छ । चिल्लो खानेकुरा कम खाने गर्नुपर्छ । विशेषगरी शारीरिक व्यायाम बढाउनु पर्छ । शारीरिक व्यायाम गर्ने नाममा एकाबिहानै कुद्ने धेरै हुन्छन् । मधुमेहको समस्या दूर गर्न भने खाना खाएको एक घन्टापछि हिँडेको राम्रो । Photo Source: Health Mart

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम