Logo

‘ओलीजीबाट महाभुल’



सुजाता कोइराला: देश अहिले संकटको घडीमा छ । नेपाली जनताले लामो संघर्षबाट प्राप्त उपलब्धि नै खतरामा परेको छ । संघर्षबाट जनताले अधिकार पाउँछन् तर त्यो एक दशकमै संकटमा पर्ने गरेको छ । राजनीतिक परिवर्तन र व्यवस्थाका लागि कति पिँढीले कहिलेसम्म लडिरहने ? यो गम्भीर प्रश्न हो । राजनीतिक स्थायित्वसहित देश विकासमा केन्द्रित हुनुपर्ने बेलामा फेरि अर्को संकट आइलाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्नुभयो । जुन प्रतिनिधिसभाले उहाँलाई प्रधानमन्त्री बनायो त्यसैलाई विघटन गरेर देशमा राजनीतिक अस्थिरता निम्त्याउनुभयो । प्रतिनिधिसभाले उहाँको कदमलाई असंवैधानिक ठह¥याएको छ । लोकतन्त्र र संविधान एकपटक फेरि ट्र्याकमा आएको छ । तर, संकट समाधान भइसकेको छैन । चुनौतीहरू अझै तेर्सिएका छन् । यसलाई सबै मिलेर सामना गर्नुको विकल्प छैन ।

नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकता लामो राजनीतिक अनुभव र दूरदर्शी सोचबाट भन्नुभएको थियो । उहाँले सहमतिको राजनीति अगाडि बढाएर देशलाई हिंसाबाट मुक्त पार्नुभयो । पहिला गिरिजाबाबुले नै सहमति, सहकार्य र एकताको कुरा राख्नुभएको हो । सहमति, सहकार्य र एकताका माध्यमबाट सबै दलहरूलाई एक ठाउँमा राखेर माओवादीहरूको हत्या र अत्याचारलाई अन्त्य गराउनुभयो । सहमति नगरेको भए देश अहिलेको शान्तिपूर्ण अवस्थामा हुँदैनथियो । सहमति, सहकार्य र एकता नगरेको भए यो शान्ति प्रक्रिया पनि अगाडि बढ्दैनथियो । हामीले आज हत्या हिंसा सुन्नु परेको छैन । यो सबै गिरिजाप्रसाद कोइरालाले चाल्नु भएको सहमति, सहकार्य र एकताको राजनीतिले नै हो ।

उहाँले निकै ठूलो साहस र त्यागको भावना देखाएर संविधानसभाको चुनाव गराउनुभयो । उहाँमाथि ठूला दबाबहरू थिए । त्यसलाई थेग्नुभयो । पहिलो संविधानसभाको चुनाव गर्दा उहाँले नेपाली कांग्रेस हार्दैछ भन्ने थाहा पाउँदा पाउँदै दिगो शान्ति र देशको सुन्दर भविष्यका लागि रोकिनुभएन । आफू र पार्टीभन्दा देश ठूलो देख्नुभयो । गिरिजाप्रसाद कोइरालाले गर्नु भएको त्याग, दूरदर्शी नेतृत्वलाई सबैले मनन् गर्न जरुरी छ । उहाँले देखाउनुभएको सहमति, सहकार्य र एकताको बाटोबाट बढ्नुपर्छ ।
सहमति, सहकार्य र एकता गरेर हामीहरू नगएकै कारण आज मुलुकको यो दुर्दशा छ । पार्टीहरूमा पनि एकताको खडेरी छ । अहिले कम्युनिस्ट पार्टीहरूमा पनि एकता नभएकै कारणले विभाजन भएको छ । राजनीतिक दलहरू विभाजित हुनु र मनमुटाव हुनु लोकतन्त्रका लागि राम्रो होइन । यसले प्रजातन्त्रमाथि धेरै ठूलो धक्का पुगेको छ । देश एकदमै अस्थिरताको बाटो स्पष्ट देखिन्छ । त्यसले गर्दा सहमति, सहकार्य र एकताको विकल्प छैन । सबै दलहरूको एकता भयो भने पूरा सहमतिकै सम्भावना बढ्छ । त्यसैले मात्रै मुलुकलाई राम्रो सन्देश जान्छ । दलहरूकै कारणले अहिले दलीय राजनीति संकटमा आएको ।

जबसम्म यो सरकार सहमति, सहकार्य र एकता गर्न सक्दैन तबसम्म यो झन्झन् असफलतातर्फ जान्छ । असफलता सरकारमा मात्र सीमित हुँदैन । देश नै संकटमा धकेलिने खतरा हुन्छ । सहमतिलाई लत्याएर बलमिच्याईँले बढ्न खोज्दा सरकार लामो समयसम्म जान सक्दैन । केही समय उसले केही लाभहरू लेला, केही फाइदाहरू पनि होलान् । तर, लामो समयसम्म यही प्रवृत्तिबाट चल्दा असफल हुन सक्छ । ंमुलुकलाई अस्थिरतातिर होइन विकासतिर लिएर जाने हो ।

कोभिड—१९ ले गर्दा हामी यत्रो संकटमा छौैं । गरिबी अभैm बढ्दै गइराखेको छ । रोजगारी छैन । कति मानिसहरू विदेशबाट त्यसै फर्किइरहेका छन् । म आफैं फर्किइरहेकाहरूलाई नियमित भेटिरहेकी छु । कोही खाडी मुलुकबाट आउनुभएको छ । सबै फर्किदै हुनुहुन्छ । अरू पनि कत्तिजना फकिइरहेका होलान् ।

नेपालीहरूमा ठूलो समस्या छ । रोजगारी गुमेको छ । युवाहरूमा व्यापक असन्तुष्टि छ । ठूलो आर्थिक संकटबीच देश गुज्रिरहेको छ । यसले गर्दा आफ्नो मुलुकबाट रोजगारीको व्यवस्था गर्नुप¥यो । यी सबै काम गर्नको लागि आफू टिक्नु पनि प¥यो । यहाँ कोही पनि सहमति, सहकार्य, एकता नगरी लामो समयसम्म एकलौटी गर्न खोजेँ टिक्न सक्दिैन । केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँसँग किन मुलुकलाई साझा रूपमा अगाडि बढाउने र अस्थिरतालाई समाप्त पार्ने सोच विकास नभएको । उहाँ यसरी कहाँ पुग्छु र देशलाई कहाँ पु¥याउँछु भन्ने ठानिरहनु भएको छ । यसरी नै सत्ता चलाउँछु र सफल हुन्छु भन्ने ठान्नुहुन्छ भने यो उहाँको भ्रम हुनेछ । यसलाई उहाँको महाभूल भन्दा अनुपयुक्त नहोला । सहमति गर्न नसकेकाले झन्झन् मुलुक संकटमा गइराखेको छ ।

संकट समाधानको लागि प्रतिनिधि सभा रहनैपर्छ । यसलाई विघटन गर्ने कुरा गर्नुहुन्न । जनताले पूरा कार्यकाल प्रतिनिधिसभा चलाउ भनेर म्यान्टेड दिएका हुन् । कसैको व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गर्ने र समय नआई चुनाव गर्ने भन्ने हुनु हुँदैन । संसद् त्यस्तो थलो हो जहाँबाट जनप्रतिनिधिले जनताको आवाजलाई उजागर गर्छन् । त्यहींबाट मुलुकको आवश्यक कानुनहरू बन्छ । मुलुकको सारा समस्याहरूको समाधानको उपाय निकाल्ने थलो संसद् हो । यसैमाथि खेलवाड किन भइराखेको छ ?
प्रतिनिधिसभालाई तारो बनाउने किन ? बरु सबै दलहरू मिलेर जाने उपाय निकाल्नुपर्छ । एकपटक देशमा सर्वदलीय सरकार निर्माणतर्फ लागौं । संर्वदलीय सरकार बनाएर अगाडि बढियो भने मुलुकलाई राम्रो हुन्छ । त्यो राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढियो त्यसले निकास दिन सक्छ । हिजो जसरी गिरिजाप्रसाद कोइरालाले विकास र समृद्धिको लागि राष्ट्रिय सहमति बनाएर अगाडि बढ्नुभएको थियो त्यसरी नै नेपालको राजनीतिमा एक पटक राष्ट्रिय सहमतिको सरकारको आवश्यक छ ।

देशले विदेशी मित्रहरू सबैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ । आफ्ना कुराहरू लागू गर्नको लागि छलफल पनि गर्नुपर्दछ । गिरिजाप्रसाद कोइराला सबैसँग सरसल्लाह गरिराख्नुहुन्थ्यो । सबैलाई भेटिरहनुहुन्थ्यो । सबैजनासँग आफ्ना समस्याहरूका कुरा पनि बताउनु हुन्थ्यो । उहाँमा विदेशीसँग आफ्ना कुराहरू स्पष्ट रूपमा राख्ने शक्ति पनि थियो । विदेशीले केही कुरा भनेका छन् उहाँलाई त्यो कुरा ठीक छैन भन्ने लाग्यो भने कन्भिन्स गराउनुहुन्थ्यो । उहाँका कुरा सुनेर विदेशीहरू कन्भिन्स हुन्थ्ये । उहाँको उमेर, अनुभवले गर्दा उहाँलाई सबैले सम्मान गर्दथे । उहाँले आफ्नो बाटोमा विदेशीहरूलाई पनि लिएर जानुहुन्थ्यो । विदेशीहरू उहाँको बाटोमा आउँथे । कतिपय कुराहरू नमिले पनि धेरैजसो कुरा उहाँले मिलाउनुहुन्थ्यो । कुनै समस्यालाई समाधान गर्न सफलतापूर्वक अगाडि बढाउनुहुन्थ्यो । अब पनि त्यो परिपक्वता चाहियो । अहिलेका नेताहरूमा त्यो परिपक्वता छैन । अहिले मुलुक एकदमै अप्ठ्यारो स्थितिमा पुगेको छ । परिपक्व विदेशनीति अवलम्बन गर्न सक्नुपर्छ । सबैसँग सल्लाह गरेर बढेमा र सहमतिको राजनीतिलाई महत्व दिएमा त्यो सम्भव हुन्छ ।-रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको विचार



प्रतिक्रिया दिनुहोस्