Logo

महन्थ ठाकुरको नेतृत्वमा सर्वदलीय सरकार



डा. सुन्दरमणि दीक्षितः मुलुकको अवस्था भयावह छ । देश कुन दिशातर्फ जाने हो अझै प्रस्ट भइसकेको छैन । अस्थिरता छ । तर, अस्थिरता र अन्योल भए पनि सल्टाउन नसकिने अवस्था छैन । समाधानका उपाय छन् । देशको संकट समाधानका लागि पहिला राजनीतिक दल र दलका नेताले लोभ र लालच छोड्नुपर्यो । अर्काेतर्फ घमण्ड छोड्नुपर्यो । मुलुक र राष्ट्रको हितमा जथाभावी गाली गर्नुको साटो संसद्मा गएर हामी सबै कोरोनाको लागि अगाडि बढ्नुपर्यो । तर, झन्झन् डरलाग्दो अवस्था आउँदैछ । जनता र राष्ट्रहितको लागि कुरामा वार कि पार भएर जानैपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेर विश्वासमा प्रधानमन्त्री रहेर दुई वर्ष जति कोरोनाविरुद्ध लड्नुपर्छ । ओलीले सक्नु भएन भने सबै दलहरूले अडान छोडेर सर्वदलीय सरकार बनाउनुपर्छ । अहिलेको अवस्थामा विश्वासिलो प्रधानमन्त्री महन्थ ठाकुर नै हुन सक्नुहुन्छ । उहाँ वयोवृद्ध पनि हुनुहुन्छ । लामो अनुभव र निष्कलंक छविको हुनुहुन्छ । सबैका लागि मान्य पनि हुनुहुन्छ । सबैलाई भन्न सक्ने मान्छे पनि हो । कसैका तिखोपन नगर्ने मान्छे हो । ठाकुरको नेतृत्वको सरकारलाई सबैले समर्थन दिएर आ–आफ्नो राम्रो मन्त्री बनाइदियो भने त दुई वर्षको कुरा हो । दलहरूले जनता र राष्ट्रको हितको लागि त्यतिमात्र गरिदिए देश नयाँ गतिमा बढ्न सक्छ ।

फेरि कोरोना भाइरसको जोखिम बढेको छ । यस्तो बेलामा सबै मिलेर जानुपर्छ । कोरोनासँग लड्नको लागि सरकार पनि बलियो नै हुनुपर्छ । मान्छे बचाउन सकियो भने देश पनि बाँच्छ । जब हाम्रो जनता नै बचाउन सकेनौ भनेदेखि के गर्ने त ? अहिले अन्योलको अवस्था हो । अस्थिरताको अवस्था हो । सल्टाउन सकिने अवस्था हो तर नेताहरू लोभलालचमा आफ्नो पृष्ठभूमिहरू आफ्नो घमण्ड सबै छोड्यो भने सकिन्छ । अरू उपाय हामीसँग अहिले छैन ।

अहिलेको शत्रु भनेको कोरोना हो । ओलीले विश्वासको मत प्राप्त गर्न सकेमा उहाँ पुनः प्रधानमन्त्री हुनुहुनेछ । उहाँले कोरोनाको लागि केही गरी पनि सक्नु भएको छ । त्यसलाई प्राथमिकता दिएर अगाडि बढे भइहाल्छ । उहाँले विश्वासको मत प्राप्त गर्न सक्नु भएन भने महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ । मधेस, पहाड सबै मिलाउन सक्ने महन्थ ठाकुर नै हुनुहुन्छ ।

अहिले कांंग्रेसले लोभ गर्नु हुँदैन । त्यस्तो गरेमा कांग्रेस डुब्न पछि पर्दैन । दलहरूलाई अवसर धेरै छैन । सबै प्रधानमन्त्रीको दाबेदार उनीहरू नै हुन् । सबै उपयुक्त पनि हुन् । तर आजको दिनमा हामीले शान्त मलमपट्टी गर्नसक्ने देशमा ठूलो घाउ लागिरहेको छ । यो सबैलाई विचार गर्दा एउटा इमानदार र विश्वासिलो मान्छे महन्थ ठाकुर नै हुनुहुन्छ । महन्थ ठाकुर जसपाको लागि मात्र हुनुहुन्छ । राष्ट्रको लागि आज महन्थ ठाकुर नै उपयुक्त हुनुहुन्छ । सबै दलले उपयुक्त मानेर आरामसँग सर्वदलीय सरकार अघि बढ्दा उत्तम हुन्छ ।

केही दिनअघिसम्म चुनाव नै उपयुक्त हो जस्तो पनि लाग्थ्यो । तर कोरोना जुन रूपले अगाडि बढिरेहको छ आजभन्दा भोलि बढ्दैछ । यो अवस्थामा चुनावमा जानु हुँदैन । चिकित्सकको नजरले हेर्दा कोरोनाको महामारी झन्झन् बढ्नेवाला छ । चुनावमा जान्छु भनेर के गर्ने ? जान नसक्ने अवस्था पक्कै आउँछ । यो महामारीको बेला त्यसमा लड्नुपर्ने अवस्था छ । दुई वर्ष बरू हामी साम्य भएर त्यसको लागि तयार भएर बस्नु उपयुक्त हुन्छ । बरु सर्वदलीय सरकार बनाऔँ ।

जहिले पनि मान्छेहरूले अगाडि के आउँदै छ भनेर को विचार गरेर बस्छ ? जुन जुन टापुहरूमा सुनामीको डर हुन्छ समुद्रीमा उनीहरूले ठूलाठूला यन्त्र राखेका हुन्छन् । सुनामी आउँछ भनेर पहिला नै सुझाव दिइरहेको हुन्छ । भुइँचालो पनि कहाँ कुन बेला आउन सक्न भनेर हामी मेसिनबाट हेर्छौं । अहिले हाम्रो मुलुकलाई कोरोना आउँदैछ । भारतबाट हाम्रोमा सुनामी आउँदैछ, त्यसलाई तत्काल रोकिन सक्ने अवस्था छैन । त्यसलाई रोकथाम गर्ने प्रयास प्रशस्त गर्नुपर्छ । अहिले हामी चुनावमा जान्छौं भनेर के गर्ने ? दुई महिनामा सायद हामी जान नसक्ने अवस्था हुनाले त्यतातर्फभन्दा सरकार बनाऔँ । र त्यो कोरोनाविरुद्ध सरकार लड्न तयार हुनपर्छ ।

कोरोनाविरुद्ध लड्ने सरकार निर्माणका लागि प्रचण्ड र माधव नेपालले पनि त्याग देखाउनुपर्छ । सर्वदलीय सरकार भयो भने आफै मन्त्री भइहाल्छ । जसपाले महन्थ ठाकुरलाई नै चयन गर्नुपर्छ । कांग्रेसले कुनै हालतमा लोभ देखाउनु हुँदैन । कांग्रेसले अहिले प्रधानमन्त्रीको रूप देखाएर गयो भने देखि कांग्रेस पनि नांगिने अवस्थामा आउँछ । किनभने दुई वर्ष पछि त चुनाव आउँदैछ । त्यसैले सरकारको नेतृत्वका लागि महन्थ ठाकुर कलंक नलाएको व्यक्ति भएकाले उपयुक्त भन्न खोजिएको हो । अब सबैले त्याग गर्नैपर्छ । त्याग गरेर जनता र राष्ट्रको लागि देखाउने बेला आइसकेको छ । भारतमा दोस्रो कोरोना देखिसक्यो । अब भ्याक्सिनले कति काम गर्छ भने थाहा भइसक्यो ।

अहिलेदेखि नै काठमाडौंका नाकाहरू र देशको सिमानामा सेना र सशस्त्रलाई जिम्मा दिनपर्छ । सरकारले गर्छु भनेर हुँदैन । आइसोलेसन क्वारेन्टिन, त्यता पनि व्यवस्थापन गरौँ । हस्पिटल तयार गर्ने बन्दोबस्त गरौँ । बाहिरबाट आउनेलाई रोकथाम गर्नुपर्छ । काठमाडौंको एयरपोर्ट आर्मीलाई जिम्मा दिनुपर्छ । किनभने उनीहरूसँग जुन क्षमता छ र अनुशासन छ आर्मीलाई देखेर मान्छे तर्सिन्छ । हाम्रो लागि आर्मी बनेका देशको बचाउ गर्ने संस्था हो । अहिले लकडाउनको कुरा पनि नगरौँ । भएको अर्थतन्त्र खत्तम हुन्छ । व्यापारीहरूले आफ्नो बेल्ट टाइड गरेर बस्नुहोस् । लगानी गर्नेमा सकेसम्म बचाउ गर्नुहोस् । जे जति कारखाना छ बचाउ गर्नुहोस् । जति छ त्यसमा निरन्तर गर्नुहोस् अगाडि बढाउनेतर्फ नलाग्नुहोस् । लगानी गर्यो भनेदेखि त्यो लगानी डुब्न सक्छ । दिन खराब आउँदैछ बचाउ आफ्नो गर्नुहोस् । आत्तिएर विदेशतिर जाने प्रयास कसैले पनि गर्नु हुँदैन ।-रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित नागरक अगुवा डा. सुन्दरमणि दिक्षितको विचार



प्रतिक्रिया दिनुहोस्