Logo

म्यान्मारका नागरिकको जीवन रक्षाको माग गर्दै मैनबत्ती प्रदर्शन



काठमाडौँ, २६ चैत । म्यानमारका नागरिकको जीवन रक्षाको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा मैनबत्ती बालेर प्रदर्शन गरेको छ । बुधबार साँझ काठमाडौंको बौद्धनाथ स्तुपाअगाडि समाजले प्रदर्शन गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजकी अधिकृत सरिता पौडेलका अनुसार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले आँखा र निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेका थिए ।प्रदर्शनमा सहभागीले ‘बर्मा : नागरिकको जीवन रक्षा गर’, शान्ति ‘बहाली गर’, ‘लोकतन्त्र बहाली गर’, ‘मानवता विरुद्धको अपराध अन्त्य गर’, ‘मानव अधिकार उल्लंघन बन्द गर’, ‘सैनिक शासन खारेज गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलगायत सहभागी थिए । प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपाल र वडा अध्यक्ष रमेश अर्याल पनि सहभागी थिए ।म्यान्मारमा सैनिक कूपछि निरन्तर प्रदर्शन भइरहेको छ । कूको विरुद्धका भएको प्रदर्शनमा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको र दुई हजारभन्दा बढी नागरिक थुनामा राखेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । म्यान्मारमा गत १ फेबु्रअरीमा बुहमतको जनादेश प्राप्त सरकारको कू गरी सत्ता आफ्नो हातमा लिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्