Logo

पर्यटकीय गन्तव्य बनाउन अभियान



बलेवा, २६ चैत: बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।

पर्यटकको आर्कषणका लागि त्यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।

यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट एक घण्टा जीपको यात्रा गर्नुपर्छ । पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो । भीमगिठेबाट दुई देखि ३ घन्टामा पैदलयात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आर्कषक रहेको स्थानीयवासी गण्डकी थापा अधिकारीले बताए ।

“उच्च स्थानमा रहेकोले पर्यटक आर्कषण गर्न सक्ने स्थान छ”, उनले भने, “यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्र्याउन सकिन्छ । ” पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने उनले बताए ।

भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थानसम्म पुग्दा हरियाली वनजङ्गल, डाडाँकाँडा, र मैदान भेटिन्छ । “पर्यटकका लागि लोभलाग्दो स्थान हो, हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौं”, स्थानीयवासी पविता थापाले भने, “मोटरबाटो पुगेकोले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।” गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खाने पुग्न थालेको उनले बताए ।

यहाँ पुगेकाहरुले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवश्यकता देखिएको स्थानीयवासी लालबहादुर थापाले बताउनुभयो । “बस्न खोज्नेलाई होटल वा टेन्ट बनाउने योजना चाहिएको छ”,उनले भने, “गाउँपालिकाबाट बजेट मागेर थप पूर्वाधारका योजना पनि थप्ने लक्ष छ ।” कोरोना महामारीका कारण थला परेको बागलुङको पर्यटन विस्तारै तङ्ग्रिन थालेसँगै नयाँ गन्तव्यको पहिचान र प्रचारप्रसारमा समेत स्थानीय तहले चासो देखाउन थालेका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्ष सरकारले घोषणा गर्दा उत्साह छाएको बागलुङको पर्यटनमा कोरोना महामारीले ठूलो असर गरेको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्