मार्जिन प्रकृतिको कर्जा प्रवाह बढ्यो


काठमाडौं, चैत २७ । कर्जाको ब्याजदर एकल अंकमा आएपछि बैंकहरूको शेयर धितोमा मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । विगत वर्षको ८ वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा थप ७५ दशमलव ४८ प्रतिशत वृद्धि भएको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीको कुल वृद्धिदर हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालू आवको फागुनसम्ममा मार्जिन प्रकृतिको कर्जावृद्धि ३२ अर्ब ९४ करोड ५० लाख रुपैयाँ भएको छ । फागुन मसान्तसम्ममा ८१ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जामा लगानी भएको छ ।

गत आवको सोही अवधिमा यस्तो कर्जा ४६ अर्ब ३९ करोड ६० लाख रुपैयाँमा रहेको थियो । वाणिज्य बैंकको यस्तो कर्जा वृद्धिदर ८९ दशमलव ५३ प्रतिशत रहेको छ । २७ ओटा वाणिज्य बैंकहरूले गत आवको फागुनसम्म ३७ अर्ब १५ करोड १० लाख रुपैयाँ हाराहारीमा ऋण प्रवाह गरेका छन् । चालू आवको गत फागुनमा मार्जिन प्रकृतिको कर्जा ७० अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ । मार्जिन प्रकृतीको कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरूमा एनआईशी एशिया सबैभन्दा अगाडि देखिएको छ ।

आक्रामक रूपमा कर्जा प्रवाह गर्दै आएको उक्त बैंकले मार्जिन प्रकृतिको कर्जामा ६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ प्रवाह गरेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार समग्र वाणिज्य बैंकको यस्तो कुल कर्जा प्रवाहमा एनआईसीको अंश ८ दशमलव ९९ प्रतिशत छ । आर्थिक अभियान दैनिकबाट