Logo

वडा तहसम्मै प्रोफाइल बनाउने तयारी



काठमाडौं, चैत २७ । राष्ट्रिय जनगणना–२०७८ पछि सबै वडाको प्रोफाइल बन्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले देशका ७५३ स्थानीय तहका छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गर्ने गरी प्रश्नावली तयार गरेपछि वडा प्रोफाइलका लागि उपयोगी हुने भएको हो ।

मुलुक सङ्घीय व्यवस्थामा गइसकेपछि अहिले भएका सबै वडा नयाँ हुन् । वडाको पूर्ण रूपमा वास्तविक विवरणसहितको तथ्याङ्क अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा असहजता कायम छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सरकारको नीति निर्माणमा थप टेवा पु¥याउन सबै वडाको प्रोफाइल निर्माण हुने गरी प्रश्नावली तयार गरेको बताए । उनले भने, “सम्बन्धित वडाले चाहेकै जस्तो प्रोफाइल निर्माण नभए पनि वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्क आउनेछ । वडाको प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बन्नसक्छ भन्ने चित्रण गर्न सकिन्छ ।”

उनका अनुसार आगामी जनगणनाबाट वडाभित्रका जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहुँच, स्पष्ट रूपमा आउनेछ । बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउनेछ ।

वडामा राजस्व सङ्कलन हुने स्रोत, सेवासुविधा, तिनमा वडावासीको पहुँच, भौतिक पूर्वाधार, सामाजिक र आर्थिक अवस्था विपत् जोखिमलगायतका विषयले वडाको समग्र प्रोफाइल निर्माण हुने विभागको अनुमान छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्