Logo

तुँवालोले २८ हजार हवाई यात्रु प्रभावित, विमान कम्पनीलाई ११ करोड रूपैयाँ नोक्सान



पोखरा, चैत २७ । अघिल्लो हप्ता पाँच दिनसम्म पोखराबाट कुनै पनि गन्तव्यमा हवाई उडान भएन। पाँच दिनपछि जसोतसो खुलेको मौसम पुनः बिग्रँदा सोमबारदेखि हवाई सेवा पुनः प्रभावित भएको छ। तुँवालोले हवाई उडानसँगै यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको व्यवसायीले बताउन थालेका छन्।

पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, जोमसोम र नेपालगन्जसम्म नियमित उडान हुन्छ। पोखराबाट हुने दुई दर्जन (एकतर्फी) हाराहारी उडान तुँवालोले गर्दा भिजिबिलिटी नपुगेर प्रभावित छन्।

पोखरा विमानस्थलका प्रमुख बिक्रमराज गौतमका अनुसार उडान अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नेबाहेक आर्थिक नोक्सान भएको छ। अहिलेसम्म पोखराबाट हुने दुई सय हाराहारी उडान प्रभावित भइसकेका छन्। यो अवधिमा झण्डै २८ हजार यात्रुको आउजाउमा अवरोध आएको गौतमले बताए। ‘पोखरा विमानस्थलले मात्र अहिलेसम्म ६० लाख रूपैयाँ नोक्सान भोग्नुपरेको छ। जहाज उडान, अवतरण, पार्किङ गराउँदाको शुल्क एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्छ,’ गौतमले भने, ‘जहाज नै आउन नसकेपछि शुल्क लिने कुरै भएन।’

गौतमका अनुसार सबैभन्दा ठूलो आर्थिक मार एयरलाइन्सले बेहोरेका छन्। उनका अनुसार यतिबेला पोखराका उडानमा आन्तरिक पाहुनाको अकुपेन्सी निकै राम्रो थियो। ‘चार हजार रूपैयाँका दरले २८ हजार यात्रुको भाडा हिसाब गर्दा वायुसेवा कम्पनीलाई ११ करोड रूपैयाँ नोक्सान भएको छ,’ गौतमले भने, ‘यात्रु नै आउजाउ गर्न नपाएपछि विमान थन्काएर राख्नुपरेको छ। आर्थिक रूपमा यो घाटा नै हो।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्