Logo

कोरोनाको दोस्रो लहर भयावह बने ‘फेरि लकडाउन’



काठमाडौं, २७ चैत्र । कोरोना भाइरसको दोस्रो लहर भयावह बन्ने सक्नेतर्फ स्वास्थ्य मन्त्रालय गम्भीर देखिएको छ । मन्त्रालयले दैनिकजसो स्वास्थ्य सतर्कता अपनाउन सूचना जारी गरिरहेको छ । भेलाहरुमा कडाई गर्ने प्रस्ताव तयार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी मन्त्रिपरिषदमै प्रस्ताव लगेको छ । अब भेला तथा जमघटमा कडाई गर्ने नीति लिने तयारी भएको छ ।
विद्यालय तथा शैक्षिक संघसंस्थालाई स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ । कतिपय शैक्षिक संघसंस्थाले अनलाइन शिक्षालाई नै जोड दिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढिरहेको तथ्यांकबारे समेत खुलाएको छ । स्वीमिङ पुल, सिनेमा घरलगायत भीडभाड हुने स्थानहरुमा सतर्कता अपनाउन भनेको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा लकडाउनको सम्भावना औल्याए । उनले वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।

‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ ओलीले भने,‘कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’ उनले कोरोना भाइरसलाई कुनै मौका न नदिनुपर्ने अवस्थामा पुगेको बताए ।

देशको अर्थतन्त्र नै डामाडोल हुनसक्ने भन्दै लकडाउन गर्न नहुनेतर्फ स्वास्थ्य क्षेत्रका विज्ञले नै सुझाव दिइरहेका छन् । तर, सतर्कता अपनाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुको जोड छ । नागरिक अगुवा समेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले लकडाउनमा जान नहुने तर सरकारले सीमामा कडाई गर्ने देखि स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्