Logo

उच्च अदालत १० वर्ष कैद तोकेको मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २७ चैत्र । मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको जनाएको छ ।

जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विना श्रम स्वीकृती गैह्रकानुनी तरिकाले २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रकम लिई भिजिट भिसामा यूएईको दुबई पठाएकोमा पीडितको आफन्तले ओमानको सिमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदुतावास समेतको सहयोग र सहकार्यमा पीडितलाई उद्दार गरिएको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्