Logo

गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिदै



काठमाडौं, चैत २८ । चैत ९ गतेदेखि थालिएको राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने भएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गैडा गणना सकिएकाले आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको । नतिजा आज दिउँससो पत्रकार सम्मेलनमार्फत हुने जनाईएको छ । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए ।

हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।

पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको हो । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्