Logo

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन



काठमाडौं, चैत २८ । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् ।

शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।

कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको स्पष्ट पारे । ‘मैले केमा अवसर खेर फालें?’ देउवाले प्रश्न गर्दै भने ।

यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन भएको थियो । त्यसमा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन? भनेर प्रश्न गरेका थिए ।

सभापति देउवाले संसद्को अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको बताए । उनले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्