Logo

केही दिनभित्रै नयाँ सरकार बन्छ, कालो बादल हट्छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाईसकेको मान्छेलाई फेरि प्रधानमन्त्रीमा कायम राखिएको भन्दै आश्चर्य प्रकट गरेका छन् । उनले मुलुक अहिले सेटिङमा चल्न थालेको पनि गम्भीर आरोप लगाएका छन् । आज (शनिबार) नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले संविधान रक्षाको लागि फेरि एकपटक आन्दोलनमा जानुको विकल्प नभएको जिकिर गरे । उनले भने,‘फेरि आन्दोलन नगरीकन संविधान कार्यान्वयन होस, बन्न नसकेका ऐन तथा कानूनहरु बनुन् ।’ उनले अबको केही दिनभित्रै नयाँ सरकार बन्ने र अहिले देखिएको कालो बादल हट्ने पनि विश्वास दिलाए ।

उनले अहिले वामपन्थीको सरकार भएपनि यसले राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले नेपालमा सबैभन्दा विवेकहीन सरकारको रुपमा वर्तमान सरकार देखिएको टिप्पणी गरे । संविधान, कानून मिचेर अहिले राज्य कब्जा गर्ने डरलाग्दो अभ्यास पछिल्लो समय भैरहेको उनको गुनासो छ । उनले वर्तमान सरकारले कर्मचारीतन्त्रलाई आतंकमा बाँच्न बाध्य बनाईएको र उनीहरुको आत्मसम्मानमा कुल्चिने काम भएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्