Logo

फुजेल हत्याकाण्डका १२ प्रतिवादीलाई फेरि सफाई



काठमाडौं, २९ चैत्र । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका प्रतिवादीहरुले उच्च अदालत पाटनबाट पनि सफाई पाएका छन् । आज जिल्ला अदालत चितवनबाट यसअघि पाएको सफाईलाई उच्च अदालत पाटनले सदर गरेको हो ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीस चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले यसअघि जिल्लाकै फैसलालाई सदर गरेको उच्च सरकारी वकिल कार्यालय हेटौंडाले जानकारी दिएको छ । फैसलामा प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्दै शंकारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिएकाले आरोपित कसुरबाट सफाइ हुने ठहर गरेको छ ।

फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा १२ जना संलग्न रहेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारीको जाहेरीले पक्राउ गरी मुद्दा चलाइएको थियो । यो मुद्दाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाउँदै आएको छ ।

माओवादी सशस्त्र द्वन्द्वकाल चुलीमा पुग्दा २४ जेठ २०६१ सालमा किशोरावस्थाका कृष्णप्रसाद अधिकारीको चितवनमा हत्या भएको थियो । त्यतिबेला प्रवेशिका परीक्षा दिएर चितवनको जयमङ्लामा हजुरबाबु भेट्न जाँदा कृष्णप्रसाद अधिकारीको रत्ननगर बकुलहरमा हत्या भएको थियो । उनलाई तत्कालीन माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेको आरोप छ । घटनामा फुजेलकै सीता अधिकारी, छविलाल पौडेलसहित १२ जनामाथि मुद्दा दायर भएकोमा २०७५ सालमा जिल्ला अदालत चितवनले अभियुक्तहरुलाई सफाई दिएको थियो ।

घटनामा सफाइ पाउनेहरुमा फुजेलकी सीता अधिकारी, जानुका पौडेल, सुभद्रा तिवारी छन् । यसैगरी, फुजेलकै रामप्रसाद अधिकारी, परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीष्मराज पौडेल छन् ।

फुजेल हत्याका दोषीमाथि कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी आमरण अनसनमा छिन् । छोराको हत्याका दोषीमाथि कारबाहीका लागि संघर्ष गर्दा गर्दै नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम