Logo

खुला सीमाले बढी जोखिम



काठमाडौं, चैत ३० । मोरङको रानी नाकाबाट दायाँ–बायाँ चार किलोमिटर क्षेत्र खुला सीमा छ। ती क्षेत्रमा सशस्त्र प्रहरी खटिए पनि भारत आवतजावत गर्नेको लर्को देख्न सकिन्छ। भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला स्वास्थ्य जाँचबिनै नेपाल प्रवेश गर्नेको संख्या बढेको सुरक्षाकर्मी बताउँछन्।

‘हामी लाठी बोकेर बसेका १–२ जनाले कता छेक्नु र?, यता छेक्यो उताबाट कुद्छन्, उता दैडियो यताबाट छिर्छन्’, विराटनगरको सीमामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘यो रोक्न सक्ने सम्भावना नै छैन २–४ जना खटाएर।’

मुख्य नाकाको गेटमा ताला लगाइए पनि खुला स्थानबाट आउने–जाने नेपाली र सुरक्षाकर्मीबीच हरेक दिन लुकामारी चल्छ। सीमामा पर्याप्त सुरक्षा सावधानी अपनाउने सरकारी प्रतिबद्धता भए पनि कार्यान्वयन नहुँदा खुला रूपमा प्रवेश गर्नेको लर्को घटेको छैन। दैनिक कति आउजाउ हुन्छ भन्ने रिपोर्टसमेत सरकारी निकायले राख्न छाडेका छन्।

स्वास्थ्यकर्मीका अनुसार नाकामा परीक्षण नगरी भित्रिनेहरूका कारण कोरोना संक्रमणको जोखिम उच्च भएको छ। मोरङको ६३ किलोमिटरमा रहेका २६ नाकाबाट नेपाल प्रवेश गर्नेको लर्को दिनहुँ लाग्ने गरेको र तिनीहरू नै बढी संक्रमित हुने गरेको सामाजिक विकास मन्त्रालयकी प्रवक्ता ओमकुमारी राजवंशीले बताइन्।

प्रदेश १ को तराईका जिल्लामा संक्रमित बढ्नुको मुख्य कारण नाकाबाट नेपाल प्रवेश गर्नेलाई व्यवस्थित नगरिनु र ‘चोरबाटो’लाई रोक्न नसक्नु रहेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बताए।

प्रदेश १ मा दैनिक २० जनासम्म संक्रमित भेटिन थालेका छन्। संक्रमितको संख्या बढे पनि नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय, प्रदेश र स्थानीय सरकारले चासो देखाएको पाइँदैन। यसअघि नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको भए पनि अहिले खुलेआम आवतजावत हुने गरेको छ। केही नाकामा शंकास्पदको एन्टिजेन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत छैन।

भारतबाट नेपाल भित्रिएका केहीमा कोरोना संक्रमण देखिहाले संक्रमितलाई सुरक्षित रूपमा आइसोलेसनमा पठाउने वा निगरानीमा राख्ने सवालमा भने अझै प्रभावकारी व्यवस्था हुन सकेको छैन। स्वास्थ्यमा समस्या आएर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएका मात्रै आफँैले खोज्दै अस्पताल पुग्ने गरेका छन्।

प्रदेश १ को कोभिड जोखिम व्यवस्थापन समितिले अत्यावश्यक कामबाहेक भारततर्फ नजान आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिण गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्