Logo

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी



काठमाडौं, ३० चैत्र । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

आज परेको सोमबारे औँशी यस वर्षको तेस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउछन्।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।

मातापिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए । यसअघि गत साउन ५ र मङ्सिर २९ गते पनि सोमबारे औँसी परेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्