Logo

नयाँ वर्ष नजिकिएसँगै बन्दिपुरमा पर्यटकको चहलपहल



बन्दिपुर, ३० चैत्र । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् ।

नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ । गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताए । “अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बाक्लिँदै गएको छ,” उनले भने । उनका अनुसार अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक पर्यटक बन्दीपुर भित्रिएका छन् ।

नयाँ वर्षलाई लक्षित गरी बन्दीपुरका होटल व्यवसायीले छुटका कार्यक्रमसमेत ल्याएका छन् । नयाँ वर्षका क्रममा होटल व्यवसायीले साङ्गितिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । “ठूलो स्टेज कार्यक्रम त केही छैन, तर सबै व्यवसायीले आफ्नो होटल अगाडि खाना महोत्सव साथसाथै साङ्गितिक कार्यक्रम गर्ने सोच बनाएका छन्,” गुरुङले भने ।

बन्दीपुरमा होटल सङ्घमा आवद्ध ७७ होटल छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

बन्दीपुरले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उनले बताए । उनका अनुसार गत वर्ष एक हजार १०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्