Logo

नहकुल सुवेदी सर्वोच्चको न्यायाधीश बन्ने निश्चित, सर्वोच्चद्वारा रिट खारेज



काठमाडौं, ३० चैत्र । न्यायाधीश नहकुल सुवेदीको सर्वोच्चको न्यायाधीश बन्न योग्यता नपुग्ने भनी दायर रिट खारेज भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उनीविरुद्धको रिट खारेज गरेको हो ।

२८ फागुनमा न्याय परिषदको बैठकबाट सुवेदी र कुमार चुडाल सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका थिए । उनीहरुको नाम संसदीय सुनुवाई समितिमा नाम पेश भइरहँदा सुवेदीको योग्यतामाथि प्रश्न उठाइएको थियो । संविधान अनुसार सर्वोच्चको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष कार्यरत भएको हुनुपर्नेमा सुवेदीको अवधि नपुगेको भन्दै रिट हालिएको थियो ।

तर, फैसलामा सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुवै अवधि जोड्दा योग्यता पुग्ने उल्लेख छ । सुवेदी राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिन र उच्च अदालतको मुख्य न्यायाधीशमा ३ वर्ष २ महिना ३ दिन काम गरेका थिए । दुवै जोड्दा उनको १३ वर्ष ६ महिना र २१ दिन पुग्छ । फैसलामा दुवै अवधि जोडेर योग्यता पुग्ने भनिएको छ ।

फैसलामा संविधान अनुसार राजपत्रांकित प्रथम श्रेणी सहसचिव स्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिस्टारसम्म र सोभन्दा माथिल्लो पद मुख्य न्यायाधीशको अनुभव दुई अलग अलग क्षेत्रको भएको हुँदा एउटा क्षेत्रको पदको अनुभव अवधि अर्को क्षेत्रको अनुभवको अवधिमा जोड्न नमिल्ने जिकिर संविधानसम्मत नदेखिने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्