Logo

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन



काठमाडौं, चैत ३१ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै विश्व बैंकले हालभन्दा १२ गुणा निर्यात हुन सक्ने उल्लेख गरेको हो । २० वर्षअघिसम्म निर्यात स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किँदै गएको उल्लेख छ । खस्किँदो निर्यात बढाएर अर्थतन्त्र गतिशील बनाउन नेपालले बलियो पहलकदमी नलिएको प्रतिदेवनमा औंल्याएको छ ।

सामाजिक दूरी मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षासहित आर्थिक वर्ष २०७७÷७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने प्रतिवेदनमा ठहर गरिएको छ । विश्व बैंकका अनुसार दक्षिण एसियामा ४० वर्षपछि पहिलोपटक सबैभन्दा धेरै आर्थिक संकुचन देखिएको छ । कोभिडपछि नेपाली अर्थतन्त्र निरन्तर खुकुलो गर्दै लगिएको, सामाजिक दूरी मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य हुनु सकारात्मक भएको बैंकको भनाइ छ ।

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादनसमेत राम्रो हुने अपेक्षा बैंकको छ । नेपालको उपयोग गर्न सक्ने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब रुपैयाँबराबर रहेको विश्व बैंकले नेपाल विकास अपडेटमा उल्लेख गरेको छ । यो जारी वार्षिक निर्यात व्यापारको १२ गुणा हो । विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा नेपाल विकास अपडेट प्रमुख डा। केने इजेमेनारीका अनुसार निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ ।

‘मध्यकालीन समयावधिमा यो सम्भाव्य हासिल गर्ने असम्भव पनि छैन,’ उनले भनेका छन् । कोभिड–१९ पछिको पर्यटन बजारसँग सामन्जस्य हुनेगरी सुधार नगरेसम्म पुनरुत्थान पूर्णरूपमा नहुने प्रतिवेदनमा उल्लेख छ । निर्यातकर्ताको क्षमता अभिवृद्धि र आधुनिकीकरण, निर्यात लागत न्यूनीकरण, निर्यात हुने वस्तुको गुणस्तर नियन्त्रण आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।

विश्वव्यापी मूल्य शृंखलामा जोडिन ‘डिजिटल’ व्यापार र ई कमर्सलाई बढावा दिनुपर्ने विश्व बैंक सुझाव दिन्छ । आर्थिक वर्ष २०७८÷२०७९ मा चालू खाता घाटा घट्न गई कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८÷२०७९ को वित्तीय घाटा बढेर सो आर्थिक वर्षको जीडीपीको ७ प्रतिशतनजिक पुग्न सक्ने बैंकको अनुमान छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्