Logo

कोरोनाले एकै दिन १३ जनाको मृत्यु



काठमाडौं, चैत ३१ । पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । यसअघि दैनिक तीन–चार जना सङ्क्रमितको मात्र मृत्यु हुने गथ्र्यो भने कहिलेकाहीँ मृत्यु शून्य हुने गरेको थियो ।

यसअघि कात्तिकमा २० जना सङ्क्रमितको एकै दिन मृत्यु भएको थियो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५३ जना पुगेको छ । आइतबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत जेठबाट कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको हो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा पहिलो पटक मृत्यु भएको थियो ।

यसैबीच सोमबार ४९६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३७८ जनाको पीसीआर परीक्षण गरिएकामा ४९६ जनामा सङ्क्रमण देखिएको हो ।

सोमबार फेला परेका सङ्क्रमितमध्ये काठमाडौँमा १५९, ललितपुरमा ४४ र भक्तपुरमा आठ गरी २११ जना छन् । यसैगरी एन्टिजेन परीक्षणबाट सोमबार थप ६३ जनामा कोरोना सङ्क्रमण फेला परेको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७४ हजार १६५ जना निको भइसकेका छन् भने तीन हजार ३०६ जना आइसोलेसनमा र ८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्