Logo

फर्निचर उद्योगमा आगलागी, ५० लाख बढीको क्षति



खोटाङ, चैत ३१ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए । बिहान करीब ४ः३० बजेको समयमा शुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगमा आगलागी भएको खबर पाउनसाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करीब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए । जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरुमा क्षति हुन पाएन ।

उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ । दश स्थानीय तह रहेको जिल्लामा चैत महिनामा मात्रै दुई दर्जन बढी घर तथा गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि घर तथा गोठमा भएको आगलागीमा अहिलेसम्म मानवीय क्षति नभए पनि पशुचौपाया भने ठूलो मात्रामा जलेर मरेका छन् ।

घर तथा गोठमा भएको आगलागीमा नगद, सुनचाँदी, पशुचौपाया, अन्नपात, लत्ताकपडा, काठपातलगायत जल्दा करोडौँको क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । जिल्लामा भएका आगलागीका घटनाको यकिन विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । जिल्लाका कतिपय सामुदायिक वनमा अझै आगलागी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । कतिपय ठाउँका स्थानीय बासिन्दाले आफ्नो नजिक पर्ने वनमा आफैँ आगो लगाउने गरेको स्रोतले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्