Logo

पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले



बलेवा, ३१ चैत । “कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्”, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्छन्, “कक्षा कोठामा पुगेर अध्यापनमा सहभागी कमै शिक्षकले पूर्वतयारी गर्छन् ।”

कोरोना महामारीपछि शिक्षण सिकाइका विधि र शिक्षकको तयारीमा परिवर्तन आएको छ । अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयहरूले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली फेरिएको थापा बताउछन् । “अनलाइन कक्षाले शिक्षकहरूलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्”, प्रअ थापाले भने, “शिक्षकहरू जिम्मेवार र विद्यार्थी केन्द्रित हुने वातावरण बन्यो ।”

कोरोना समयमा प्रयोग भएको विधिलाई अहिले पनि विद्यालयले पछ्याइरहेको छ । रेश नुन्थला माविका सबै शिक्षक अहिले इन्टरनेटको प्रयोग गरेर आफू अद्यावधि रहने र विद्यार्थीलाई समेत सिकाउने गरेको थापाले बताए । विद्यालयमा इन्टरनेटको पहुँच र विद्यार्थीसँग समेत इन्टरनेटको पहुँच हुँदा पठनपाठन प्रक्रिया सहज हुने गरेको अनुभव शिक्षण विष्णु गौतमसँग पनि छ । गौतम अहिले विद्यालयमा सबैभन्दा धेरै इन्टरनेटको प्रयोग गर्न सिपालु शिक्षकमा गनिनन्छन् ।

विद्यालयमा ४५२ विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिसँग जोडिन आग्रह गर्दा ७० प्रतिशत विद्यार्थीले सिकाइमा सहभागी भइरहेको अनुमान विद्यालयको छ । “अनलाइन कक्षा भनेको कक्षाकोठाजस्तो रहेन, त्रुटि हुँदाको घडीमा रेकर्ड रहने भएकाले शिक्षक जिम्मेवार बन्नैप¥यो”, थापा भन्छन्, “पाठ्यक्रममा तलमाथि पर्दा विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैलाई तत्कालै जानकारी हुन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्