Logo

देशले फेरि लकडाउन धान्न सक्दैनः कांग्रेस



काठमाडौं, बैशाख १ । पछिल्लो समय कोभिडको दोस्रो लहर शुरू भएसँगै पुनः लकडाउनको अवस्था आउन सक्ने चिन्ता बढिरहेका बेला नेपाली कांग्रेसले देशले अब लकडाउन धान्न नसक्ने बताएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न सरकारलाई आठबुँदे सुझाव दिँदै कांग्रेसले लकडाउनको अवस्था आउन नदिन सबै पक्ष चनाखो हुन जरुरी रहेको बताएको हो ।

‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं,’ कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले सरकारलाई दिएको सुझाव प्रतिवेदनमा भनिएको छ, ‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्न र अनुगमन मजबूत पार्न समेत माग गर्दछौं ।’ कोभिड–१९ को व्यवस्थापनमा सरकार चुकेको निष्कर्ष कांग्रेसको छ । साथै आर्थिक दुरुपयोग, स्वास्थ्य सामग्री खरीदमा भष्ट्राचार भएको भन्दै कांग्रेसले त्यसको विरोध गरेको छ ।

अहिले संक्रमित, गम्भीर बिरामी भएर आईसीयूमा बस्नुपर्ने बिरामी र मृतकको संख्या पनि बढेकोतर्फ कांग्रेसले ध्यानाकर्षण गराएको छ । भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ । कोभिड–१९ संक्रमण रोक्न आवश्यक कार्य तत्काल अगाडि बढाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेसले प्रस्तुत गरेका आठबुँदे सुझावमा गम्भीर बिरामीको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न भनिएको छ । यस्तै अन्तरराष्ट्रिय उडानबाट आउने र सीमा नाकाबाट आउनेलाई व्यवस्थित चेकजाँच तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, कन्ट्र्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितलाई लक्षित गरी पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आमजनतालाई कोभिड–१९ को विरुद्ध खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाइनुपर्ने, खोप आपूर्ति सुनिश्चित गर्न उच्च कूटनीतिक पहल गरिनुपर्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्