Logo

बिहुँ काउलेका दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउँदै



गलकोट, १ बैशाख । विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै छन् । दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् ।

भूकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउलेका १० घर परिवार विसं २०७५ असारदेखि पूर्णरूपमा विस्थापित भएका थिए । “भूकम्पले घरहरु चर्काएको थियो, नयाँ वर्षकै महिनामा घरमा बस्ने अवस्था थिएन, जेनतेन मर्मतसम्भार गरी बस्दै आएका थियौँ”, अर्का पीडित भविलाल दर्जीले भने, “कहिलेकाहीँ त अब नयाँ घर पाउने आशा समेत मार्दै आएका थियौ, अहिले नयाँ घर ठडियो, नयाँ वर्षमा घर छाडेका हामीले नयाँ वर्षको आगमनसँगै सर्न पाउनेछौँ ।” भूकम्प र पहिरोका कारण विस्थापित बनेका बिहुँ काउलेका १० दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउने भएका छन् ।

भूकम्प गएको छ वर्षपछि बिहुँ काउँलेका दलित बस्तीका लागि एकीकृत नमूना बस्ती निर्माण अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प गएको पाँच वर्षपछि गत पुसदेखि एकीकृत बस्ती निर्माण शुरु गरेको थियो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारको त्यसपछि आएको पहिरोका कारण बस्ती नै विस्थापित हुनुपरेको थियो । भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा विसं २०७५ असार १२ गतेको भीषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए ।

बिुहँकै सापकोटा चोकमा एकीकृत बस्ती ठडिएको छ भने पूर्वाधार निर्माणको काम शुरु हुन थालेको छ । अहिले घरहरुको निर्माण सम्पन्न हुने चरणमा छ । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेयले जानकारी दिए। उनका अनुसार ढिलै भए पनि काउँलेका स्थानीयवासीले नयाँ वर्षलगत्तै घर पाउने गरी निर्माणले अन्तिम रूप लिएको बताए ।

यद्यपि एकीकृत बस्तीमा पूर्वाधार निर्माण नभएसम्म हस्तान्तरणको काम भने नहुने पाण्डेयको भनाइ छ । विसं २०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख रकम दिइएको थियो ।

जग्गा खरिदमा प्रतिपरिवार रु दुई लाख, एकीकृत बस्ती निर्माण गर्न प्रतिपरिवार रु तीन लाख र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार रु चार लाख गरी एकीकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा रु ९० लाख खर्च गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख पाण्डेयले जानकारी दिए । उनले पछिल्लो समय बागलुङमा पुनःनिर्माण प्राधिकरणले गति लिएको बताए। रासस



प्रतिक्रिया दिनुहोस्