Logo

कहाँका राजा हुन् विक्रमादित्य ?



सूर्यवंशी लिच्छवि राजाको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश शुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिवर्मा, विक्रमादित्य आदि उपाधिवाट पुकारिने सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् चालु भएको मानिएको छ।

शक संवत्, नेपाल संवत् तिथिका आधारमा मात्र चलिरहेका र तिथिहरु गडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सजिलो बनाउनका लागि चन्द्रशम्शेरले ज्योतिषीहरुको सल्लाह लिएर तिथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन्।

काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ। यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बासु पासाले ‘काभ्रे-सिन्धु वृत्तान्त’ पुस्तकमा लेखेका छन्।। जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ। मल्लकालमा विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखमा प्राप्त छन्।

हिन्दू कालगणना अनुसार पृथ्वीमा जीवनको शुरूआत आजभन्दा लगभग २ सय करोड वर्ष पहिले भएको थियो।  त्यो सुरुवात पद्धतिलाई गणना गर्न सक्ने त्यो संसारमा कुनै त्यस्तो समय मापन र निर्धारण पद्धति छ भने त्यो सनातनी हिन्दूहरुको प्राचीन वैदिक ऋषिहरु प्रदत्त पद्धति मात्र हो। त्यस पद्धतिलाई विदेशमा सर्व प्रथम इरानी, युनानीहरुले र पछि अरब, मिस्रबासीले पछ्याएका थिए। तर कालान्तरमा ती देशहरुमा बदलिएको धर्म, संस्कार र संस्कृतिले यसको प्रचलन र स्वरूपमा परिवर्तन ल्याइदिँदा विक्रम संवत्को विश्वव्यापी प्रभावबाट तर्सिन पुगेका पश्चिमाहरूका सम्राट जुलिअस सिजरले पौष महिनादेखि क्यालेन्डरको शुरुवात गराउन पुगेका थिए। फ़ारसी विद्वान्, लेखक, वैज्ञानिक, धर्मज्ञ तथा विचारक अलबेरूनीले आफ्ना ग्रन्थहरुमा श्रीहर्ष, विक्रमादित्य, शक, वल्लभ र गुप्त संवत् गरी पाँचवटा संवत्को उल्लेख छ।

प्राचीन सनातन परम्परामा आधारित सौर्य पात्रो, जो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो, शक् संवत् भन्दा १३५ वर्ष जेठो, कलि संवत्भन्दा ३०४४ बर्ष कान्छो , नेपाल सम्बत् भन्दा ९३६ बर्ष ६ महिना जेठो , हिजरी संवत्भन्दा ६३६ वर्ष जेठो छ। भाषा वंशावलीमा नेपालमा लिच्छवी राजा धर्मागतको शासनकालमा उनको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाएको र त्यसैबेलादेखि विक्रम संवत् नेपालमा प्रचलनमा ल्याएको भन्ने उल्लेख छ। साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौँदेखि बज्राचार्य वंशका पुजारीले गरी आएका छन्।

कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन, यसको उठान भारतको उज्जैनबाट भएको हो लेखेका छन्। इतिहासकार बाबुराम आचार्यले लेखेका छन्- ‘जुन समय ईशापूर्व ५७ वर्षमा यो संवत्को उठान भएको थियो उस समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। उज्जयिनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन।’

‘विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारहरुले कहीं न कहीँ त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै गुनगान हुन्थ्यो, कहीं मूर्ति पनि बन्थ्यो होला। तर त्यस्तो कतै पाइँदैन।’ रोचक के भने नेपालको इतिहासमा लगभग विक्रम संवत् ७८० देखि ९३६ वर्षसम्म अर्थात् डेढ शताब्दीको नेपालको इतिहास नै भेटिँदैन।

बाबुराम आचार्यले नेपालको सरकारी चलनचल्तीमा रहेको संवत्‌लाई विक्रम संवत्‌ मानेका छैनन्। त्यसैले उनले आफ्ना पछिल्ला लेखहरू र पुस्तकमा कि इस्वी संवत् चलाएका छन् कि विक्रम संवत्‌लाई संवत्‌ मात्र लेखेका छन्। ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ पहिलो भागको ‘एक-दुई कुरा’मा आचार्यले लेखेका छन्, ‘हाम्रा राष्ट्रिय संवत्‌मा विशेषण गराएर जोडिएको ‘विक्रम’ शब्द सार्थक देखिन्न। यो संवत् उज्जयिनीका राजा विक्रमादित्यले चलाएका हुन् भन्ने दन्त्यकथा १२०० वर्ष पहिलेदेखि भारतमा चल्दै आएको छ र यस देशमा पनि यो दन्त्यकथा आइपुगेको छ।’

‘तर, जुन समय (इसापूर्व ५८ वर्ष) मा यो संवत् उठान भएको थियो उस समयमा अवन्तिदेशको राजधानी उज्जयिनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। …. यस कारणले इसापूर्व पहिला शताब्दीका विक्रमादित्य ऐतिहासिक राजा देखिन्नन्। वास्तवमा यस संवत्‌को उठान वर्तमान राजपूतनामा आबाद भएका मालवगणले गरेका हुन् भन्ने कुरा त्यहाँ पाइएका शिलालेखहरूबाट प्रमाणित भइसकेको छ। यस कारणले यस संवत्‌का साथ जोडिएको ‘विक्रम’ भन्ने शब्द हटाउनु आवश्यक भएको छ।’

पूर्णिमाको पूर्णाङ्क २५ मा इतिहासकार नयराज पन्तले लेखेका छन्- ‘… विक्रमादित्य ऐतिहासिक राजा होइनन्, कालिदास विक्रमको पाँचौँ शताब्दीमा भएका हुन् भनी तपाईंले स्वयंसिद्ध मानी उपस्थित गर्नुभएको सिद्धान्त प्रमाणबाट सिद्ध भएको कुरो होइन, केही पश्चिमा विद्वान्‌हरूको अनुकरण मात्र हो भन्ने कुरा स्पष्ट हुन्छ। अभिलेखबाहेक अरू लेखका प्रामाण्य स्वीकार नगर्ने हो भने हामीहरू इतिहास बनाउन सक्दैनौँ, बनेको प्रामाणिक इतिहास पनि भताभुङ्ग हुन्छन्।’

कतिपय भन्छन्- आर्यवर्तको इतिहासमा राजा त थुप्रै भए तर विक्रमादित्यजस्ता चक्रवर्ती भई आफ्ना यश र कीर्ति विश्वभरि फैलाउने सीमित पनि हुन सकेनन्। उनको जस्तो ख्याति त्यसपछिका कुनै पनि कनिष्ठहरुले कायम राख्न सकिएको देखिएन। उनको एतिहासिक महत्त्व कति थियो? भन्नेकुरा जान्न गोमती पुत्र शाकर्णि, चन्द्रगुप्त द्वितीय र स्कन्द गुप्त आदिले विक्रमादित्य विशेषण धारण गरेर गौरवान्वित हुन पुगेको हेर्दा चाल पाइन्छ |

विक्रमादित्यको नाउँ, प्रसिद्धि, काम र कार्यकाललाई लिएर नेपाल, भारत र विश्वका इतिहासकारहरु एकमत हुन सकेका छैनन्। पश्चिमा विद्वान् डा. हार्न्ले, डा.किलहार्नले विक्रमादित्य कुनै राजा नभई ५४४ ई. मा मालावाको राजा यशोवर्मनले हुणराजा मिहिरकुललाई हराएपछि विक्रमादित्यको उपाधि धारण गरेका हुन् र त्यै विजयपछि मालव संवत् विक्रम संवत् हुन् पुग्यो भनेर लेखेका छन्। डा. स्मिथ र डा. भनडारकरले मालव संवत्लाई विक्रम संवत् बनाउने राजा चन्द्रगुप्त द्वितीय थिए जसको उपाधि विक्रमादित्य थियो भनेर लेखेका छन्।  डा. फलित,  प्रो.कनिंघम र प्रो. मार्सलले कनिष्क नै विक्रम संवतको प्रवर्तक हुन भनेका छन्।

कालिदास रचित ग्रन्थ ‘ज्योतिर्विदाभरण’ अनुसार राजा विक्रमादित्यले ३०४४ कलिवर्ष बितेपछि अर्थात् ईशापूर्व ५७ वर्ष पहिले विक्रम संवत् चलाएका थिए। काल वा समयले सम्पूर्ण ब्रह्माण्ड र सृष्टिमाथि प्रभुत्व जमाएको हुन्छ।  त्यो तथ्य बुझेर आधुनिक विज्ञानले कालको मापन इकाईको सूक्ष्मतम अंशलाई सेकेन्ड र महानतम अंशलाई शताब्दी भन्ने गरेको छ भने विगतकालमा समयको सूक्ष्मतम अंशलाई परमाणु र महानतम अंशलाई ब्रह्म भन्ने गरिएको थियो। कालिदासले ‘ज्योतिर्विदाभरण’ ग्रन्थमा सर्वप्रथम यो कलियुगीन विश्वमा ६ व्यक्तिहरुको नाउँमा समयको मापक चक्र संवत्को रुपमा चल्नेछ भनेर उल्लेख गरेका थिए- युधिष्ठिर, विक्रम, शालिवाहन, विजयाभिनन्दन, नागार्जुन र कल्की (चल्न बाँकी)।

 

 



प्रतिक्रिया दिनुहोस्