Logo

लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइरहेका छन् : प्रधानमन्त्री ओली



काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद उन्मुख मुलुकमा समाजवादका विषयमा गलत व्याख्या भइरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौंमा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । एकथरी मान्छे आफूले प्रधानमन्त्री पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्किएर कराउन थालेको भन्दै उनले त्यस्ता व्यक्तिले परिवर्तन नै नबुझेको पनि दाबी गरे ।

उनले भने,“संविधान र व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन, लोकतन्त्रको मूल्यमान्यता केही तलमाथि परेको छैन, केही मान्छे महत्वकांक्षा पूरा हुन पाएन, लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइरहेका छन् ।” उनले त्यस्ता शाब्दिक क्रान्तिकारी नामका वामपन्थी र कामका दक्षिणपन्थी भएको पनि आरोप लगाए ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै उनले कडा टिप्पणी गरे । उनले आफ्नो पार्टी फुटाएर, आन्दोलन ध्वस्त पारेर सरकार ढाल्नका लागि मद्दत माग्न अन्त पुगिरहेको उल्लेख गर्दै यस्ता प्रवृत्तिमा अब जनताको विश्वास नहुने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले परिवर्तन, अग्रगमन र विकासको लहरलाई ध्वस्त पार्ने प्रयास भइरहेको तर्फ सजक हुनुपर्नेमा जोड दिए । उनले अब हिजोका घाउ मेटाउँदै समस्या सम्बोधन गरेर देशलाई सुशासनको बाटोमा तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot